ad ad

खेल


सागअघि रंगशालाको भीआईपी प्यारापिटमा चार करोडको छाना (भिडियो)


लक्ष्मी जि.सी
मंसिर ४ ,

१३औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोह हुने दशरथ रगंशालामा भीआईपी प्यारापिटतर्फको छानो हाल्ने काम बुधबारदेखि सुरु भएको छ।

चीनबाट ल्याइएको ‘टेन्साइल फेब्रिक’ छाना भीआईपी प्यारापिटतर्फ मात्र राख्न चार करोड ५५ लाख रुपैयाँ छुट्याइए राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। यो छानाको विशेषता कपडाजस्तो हुने र तन्काउन मिल्ने हुन्छ। समय अभावका कारण चीनबाट समुन्द्रको बाटो हुँदै ल्याइनुपर्ने छानो कार्गो विमानबाट एक साता अघि नेपाल ल्याइएको हो। 

सदस्यसचिव रमेशकुमार सिलवालका अनुसार चीनबाटै छानो जडान गर्ने विज्ञहरु नेपाल आएका छन। मंसिर १० भित्र छानोसँगै दशरथ रंगशालाको सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उनले बताए।

यसअघि दशरथ रंगशालाले सन् १९८४ मा भएको पहिलो दक्षिण एसियाली खेलकुद र सन् १९९९ मा भएको आठौँ साग प्रतियोगिता गरिसकेको छ। २०७२ सालको गोरखा भूकम्पपछि पछिल्लो समय थालिएको दशरथ रगंशालाको पुर्नर्निर्माण कामले साग नजिकिएसँगै गति लिएको छ।

chhano 1

यता सागको समापनस्थल पोखरा रंगशालामा पनि बुधबार देखि नै प्यारापिट जडानको काम सुरु भएको छ। महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड दुई दिनअघि नै पोखरा आइपुगेको छ। मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ। जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले पाँच दिनभित्र सबै प्यारापिट जडान भइसक्ने नेपालखबरलाई जानकारी दिए।

chhano 2

‘आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनरमा प्यारापिटका लागि आवश्यक सामान पोखरा आएको हो’, म्यानेजर बरालले भने, ‘पाँच दिनभित्र तयार हुने यो प्यारापिट ३८ सय क्षमताको हुनेछ।’

उनले प्यारापिट निर्माण भइसकेपछि दर्शकका लागि कुनै समस्या नहुने जानकारी दिए। खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो बुधबार साँझसम्म पोखरा आइपुग्ने र तत्काल फेर्न सुरु गर्ने समेत बरालले जानकारी दिए।

chhano 3

‘केही दुबो आउन बाँकी छ। त्यो दुबो पनि साँझसम्म आइपुग्छ’, उनले भने, ‘दुबो आइसकेपछि साँझबाटै हामीले काम सुरु गरिहाल्छौँ।’

मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्र्याकको कामसमेत धमाधम निर्माण भइरहेको बरालले जानकारी दिए। उनका अनुसार ट्र्याक पाँच दिनभित्र पूरा भइसक्नेछ। ‘रंगशालाको अहिले ९० प्रतिशत पूरा भइसकेको छ। बाँकी काम पनि केही दिनभित्रै पूरा हुन्छ’, उनले भने।

chhano 4

यही मंसिर १५ देखि २५ गतेसम्म हुनलागेको खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुनेछ।

पोखरामा ९ खेल हुने भनिए पनि अन्तिम समयमा आएर प्याराग्लाइडिङ नहुने भएको छ। ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन खेल त्यहाँ सञ्चालन हुँदै छन। जनकपुरमा एक र बाँकी खेल काठमाडौंमा हुने तय भएको छ। सबै खेलका लागि भौतिक र प्राविधिक निर्माणकार्य तीव्र रुपमा अघि बढिरहेको छ।

भिडियाे/तस्बिरः प्रविन काेइराला 

chhano 5
chhano 6
chhano 7

मंसिर ४, २०७६ बुधबार १२:२१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .