अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जारी गरेको प्रतिवेदन ‘इरान मिलिटरी पावर’मा इरानसँग अत्याधिक क्षेप्यास्त्र हतियार भएको जनाइएको छ।
उक्त प्रतिवेदन सेनाका लागि सुक्ष्म काम गर्ने संगठन डिफेन्स इन्टेलिजेन्स एजेन्सीको सहयोगमा तयार गरिएको बीबीसीले बताएको छ।
अमेरिका, इजरायल र साउदी अरबभन्दा शक्तिशाली बन्न इरानले ब्यालेस्टिक क्षेप्यास्त्रहरु तीव्र रुपमा निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ।
अमेरिकाले विभिन्न प्रतिबन्ध लगाएपछि भने इरान आधुनिक हवाई शक्ति बनाउन असफल भएको जनाइएको छ। इरानले आफ्नो हतियार बढाउन निकै लगानी गरेको छ।
प्रतिवेदनमा इरानले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको बताउँदै लेखिएको छ,‘इरानले विस्तृत क्षेप्यास्त्र निर्माण कार्यक्रम अपनाएको छ। यो हतियार संख्या कम गर्ने अन्तर्राष्ट्रिय कोसिसविरुद्धको कार्य हो।’
इरानसँग छोटो दुरी, मध्यम दुरी तथा लामो दुरी सबै स्थानमा मार हान्नसक्ने व्यालिस्टिक क्षेप्यास्त्र भएको प्रतिवेदनले जनाएको छ। यस्ता क्षेप्यास्त्रले दुई हजार किलोमिटरको दुरीसम्म मार हान्नसक्छ।
प्रतिवेदनअनुसार इरानले ल्यान्ड अट्याक क्रुज मिसाइलको पनि निर्माण गरिरहेको छ। उसले दक्षिणी समुन्द्रमा कोस्टर डिफेन्स क्रुस मिसाइल पनि तैनाथ गरेको छ। जसले ३ सय किलोमिटरसम्मका जहाजहरु ध्वस्त बनाउनसक्छ।
इरानले समुन्द्र भित्र ५ हजार बारुदी सुरुङको निर्माण गरेका पनि जनाइएको छ।

प्रतिक्रिया