फुटबल स्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै यस वर्षको च्याम्पियन्स लिगबाट बाहिरिएका छन्।
च्याम्पियन्स लिग फुटबल युरोप मात्रै नभएर विश्वकै क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता पनि हो।
विश्व फुटबलका यी दुई स्टारले लगातार दोस्रोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्न नपाई बाहिरिएका छन्।
दुवैले आफ्नो टोलीलाई च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा जित दिलाउन सकेनन्।
मेस्सी आवद्ध फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगमा निराशाजनक यात्रालाई तोड्न सकेन।
एक से एक स्टार खेलाडी भित्र्याउँदा पनि पीएसजीले पुरानै कथा दोहोर्यायो। क्लबका लागि कतारका व्यापारी मालिकले अर्बौँ डलर लगानीमा कुनै कञ्जुस्याइँ गरेका छैनन्।
तर यो सिजनको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडविरुद्ध लिएको १-० अग्रतालाई पीएसजीले जोगाउन सकेन।
रियलले दोस्रो लेगमा एकतर्फी ३-१ को जित निकाल्दै समग्रमा रियल ३–२ गोल अन्तरले पीएसजीलाई घरको बाटो देखाइदियो।
रियल मड्रिडलाई च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुर्याउने क्रममा दोस्रो लेगको खेलमा करिम बेन्जेमाले ह्याट्रिक गरेका थिए।
त्यस्तै रोनाल्डो दोस्रो पटक वर्ल्ड ट्राफोर्ड फर्किए पनि म्यानचेस्टर युनाइटेड यो सिजनको निरशाजनक यात्रा जारी छ। युनाइटेड पनि स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ।
अन्तिम १६ को खेलमा एथ्लेटिको मड्रिडसँग पराजित भएपछि लगातार पाँच सिजन युनाइटेड उपाधिविहीन भएको छ।
युनाइटेड समग्रमा २–१ गोल अन्तरले पराजित भएको हो। युनाइटेडले प्रिमियर लिगमा पनि उपाधिभन्दा पर अर्को सिजन च्याम्पियन्स लिगका लागि संघर्ष गरिरहेको छ।
Shares
प्रतिक्रिया