एसीसी इमर्जिङ कपबाट बाहिरिएपछि नेपाली क्रिकेट टोलीले अझै धेरै सुधार गर्न बाँकी रहेको कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कप्तान मल्लले दुर्भाग्यवश आफूले राम्रो खेल्न नसकेको स्वीकारे।
‘भारत र बंगलादेशसँग अझ राम्रो गर्न सक्थ्यौँ। भारतसँग २३० रनसम्म बनाउन सक्थ्यौँ,’ उनले भने, ‘तर बंगलादेशसँग २०० सय पनि बनाउन सकेनौँ। हाम्रो ब्याटिङ पक्ष कमजोर रह्यो।’
‘मोमेन्टम पाइसकेपछि बिल्ड अप गर्ने उनीहरुको तरिका हामीभन्दा निकै भिन्न थियो,’ उनले भारत र बंगलादेशसँगको खेल अनुभव सुनाए, ‘हामीले सिक्ने मौका पनि पायौँ र उनीहरुसँग बराबरी गर्न हामीले धेरै गर्न बाँकी छ भन्ने पनि देखियो।’
त्यसका लागि अझ धेरै म्याच एक्स्पोजर चाहिने उनको भनाइ थियो।
तीन खेल खेलेको नेपाल भारत र आयोजक बंगलादेशसँग पराजित भएको थियो। हङकङलाई भने नेपालले जितेको थियो।
प्रतियोगितामा कमजोर व्यक्तिगत प्रदर्शन गरेका मल्लले कप्तानीको दबाब महसुस नगरेको बताए।
‘कप्तानको रुपमा व्यक्तिगत प्रदर्शन राम्रो गर्न सकिनँ। तर टोलीबाट राम्रो समर्थन पाएँ। अझै महत्वपूर्ण खेल हुँदैछन्,’ उनले भने, ‘म्यानेजरले सकारात्मक वातावरण बनाइदिनुभयो। आगामी दिनमा अझै राम्रो हुने आशा छ।’
‘तर, म दुर्भाग्यवश सुरुमै आउट भएँ,’ उनले भने।
कप्तान मल्लले आगामी सागमा स्वर्णपदकको लक्ष्य राखिएको पनि बताए।
टोलीलाई विमानस्थलमा क्यानका सदस्य अमितवीर पाण्डले लगायतले स्वागत गरेका थिए।

प्रतिक्रिया