ad ad

खेल


काठमाडौँका ए डिभिजन फुटबल क्लबलाई महानगरको १० लाख रुपैयाँ सहयोग

काठमाडौँका ए डिभिजन फुटबल क्लबलाई महानगरको १० लाख रुपैयाँ सहयोग

नेपालखबर
फागुन ११, २०७८ बुधबार १९:२२, काठमाडौँ

काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा ए डिभिजन फुटबल क्लब हरेकलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ।

आज महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरूलाई अनुदान रकमको चेक हस्तान्तरण गरे। चेक हस्तान्तरणसँगै मेयर शाक्यले विजेता फुटबल क्लब हरेकलाई ५ लाख रुपैयाँ प्रोत्साहन दिने घोषणा गरे।  

सहयोग रकम हस्तान्तरणपछि बोल्दै मेयर शाक्यले, खेल अवधिमा प्रतिस्पर्धा त्यसपछिको सौहाद्रता राजनीतिक क्षेत्रले सिक्नु पर्ने पाठ भएको बताए। 

‘खेलकुदले सामाजिक र आर्थिक विकास गर्छ। रोजगारी सिर्जना गर्छ। त्यति मात्र होइन यसले विश्वभर देशको गौरव बढाउँछ’ मेयर शाक्यले भने, ‘अनेक आयाम भएको खेलकुदले स्वस्थ्य सहर निर्माण योगदान दिन्छ। फुटबल विश्वमा अधिक रुचाइएको खेल हो। हामीले दिएको सानो सहयोगले आन्तरिक प्रतिस्पर्धाबाट दक्ष खेलाडी छनौट गर्न सहयोग पुग्छ। यसरी छानिएका खेलाडीले भोलि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपालको गौरव उच्च बनाउनेछन् भन्ने महानगरको अपेक्षा हो।’

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले, खेल जीवनमा प्रवेश गरेका धेरै मानिसहरु पेशा परिवर्तन गरेको दृष्टान्त दिँदै, आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले खेलमा प्रवेश गरेको व्यक्ति बाहिरिनु नहुने बताइन।

‘खेलबाट देशको गौरव बढाउने खेलाडीको मनोबल उच्च बनाउन राज्यकोतर्फबाट लगानी थप्दै जानुपर्छ’ उपमेयर खड्गी श्रेष्ठले भनिन्, ‘महानगरले जिम्मेवारी पूरा गर्ने प्रयास गरेको छ।’ 

अहिले काठमाडौंमा मच्छिन्द्र क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लव, मनाङ् मर्स्याङ्दी, एन आर टी क्लब गरी ए डिभिजनका ५ वटा फुटबल क्लवहरु छन्। यस अघि सरस्वती क्लब पनि ए डिभिजनमा पुगेको थियो। पछि यो क्लब ए डिभिजनबाट वी डिभिजनमा गयो। 

महानगरले उपलब्ध गराएको रकम क्लबहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन्। क्लबहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ। महानगरको नीति र प्रचलित कानून विपरीत क्लबले काम गरे सम्झौता स्वतः खारेज हुनेछ। 

सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीकाअनुसार ए डिभिजन क्लबहरु हरेकलाई २०७५ साल भदौ २५ गते ९ लाख ३० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएर सहयोग सुरु गरिएको थियो। यसैगरी २०७६ बैशाख २३ गते बि र सि डिभिजन क्लबलाई क्रमशः ३ लाख र २ लाख रुपैयाँ सहयोग रकम प्रदान गरिएको थियो। त्यसपछि सम्झौताअनुसार शर्त र प्रगतिका आधारमा महानगरले सहयोग गर्दै आएको छ। 

खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमश लगानी बढाउँदै लैजाने नीति लिएको छ। 

महानगर आफैँले बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र सञ्चालन गरेको छ। सामुदायिक विद्यालयलाई खेलकुदमैत्री बनाउन पूर्वाधारमा लगानी बढाएको छ। यसैगरी फुटबलसहित विविध विधाका खेलकुदलाई सहयोग गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .