जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको १२ औँ संस्करण चैत दोस्रो सातादेखि हुने भएको छ।
आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १० देखि १९ गतेसम्म हुने जानकारी गराएको हो।
फ्लड लाईटमा हुने प्रतियोगितामा आयोजकसहित ए डिभिजनका ६ क्लब र मोफसलका ३ क्लब गरि १० टोलीले भाग लिने क्लबका अध्यक्ष रामचन्द्र ग्याम्दाङले जानकारी दिए।
प्रतियोगिताको उपाधि विजेताले १० तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल पाउनेछन्। विधागततर्फका विजेताले जनही २० हजार रुपैयाँ पाउने छन्।
२०६६ बाट शुरु भएको प्रतियोगितामा अहिलेसम्म संकटा क्लब, त्रिभूवन आर्मी फुटबल क्लव र मनाङ मस्र्याङदी क्लबले समान दुई पटक उपाधि जितेका छन्।
यस्तै आयोजक सिमरा, थ्रीस्टार, विजय युथ क्लब हेटौंडा, हिमालयन शेर्पा र मजदुर शहिद स्मृति क्लबले समान एक पटक उपाधि जितेका छन्।
जीतपुर सिमरा उपमहानगरपालिकाको मूख्य सहयोगमा हुने प्रतियोगिताका लागि उपमहानगरले २५ लाख रुपैयाँ दिनेछ।
यस्तै रङ्गशालाको पूर्वाधार मर्मत एवं फ्लड लाइट व्यवस्थापनका लागि उपमहानगरपालिकाले थप २० लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ।
Shares

प्रतिक्रिया