ad ad

खेल


बेइजिङ ओलम्पिकमा यसकारण चर्चामा आइन् रुसकी १५ वर्षीया कामिला

बेइजिङ ओलम्पिकमा यसकारण चर्चामा आइन् रुसकी १५ वर्षीया कामिला

रुसकी १५ वर्षीया स्केटर कामिला भालिएभा


नेपालखबर
फागुन ३, २०७८ मंगलबार ९:५२, काठमाडौँ

रुसकी १५ वर्षीया स्केटर कामिला भालिएभा अहिले चर्चाको केन्द्रमा छिन्। यसअघि नै विभिन्न कीर्तिमान राखिसकेकी भालिएभा सन् २०२१ मा सबैमाथि हाबी भएकी थिइन्।

गत वर्ष उनले रुसी र युरापेली च्याम्पियन्सिपको उपाधि जितेकी थिइन्। 

गत साता भालिएभाले रुसी टोलीलाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनी शीतकालीन ओलम्पिकमा क्वाड्रुपेल जम्प गर्ने पहिलो महिला बनेकी छिन्। 

यद्यपि उनी स्वर्णपदक वितरण समारोहमा भने सहभागी हुन पाइनन्। उनीमाथि प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप लाग्यो। परीक्षणमा उनले प्रतिबन्धित औषधि लिएको पनि खुल्यो। यही विवादको कारण उनी पदक वितरण समारोहमा सामेल हुन नपाएकी हुन्। 

अदालतले भने उनलाई ओलम्पिकका बाँकी खेलमा सहभागी हुन पाउने अनुमति दिएको छ। उनले पदक वितरण समारोहमा भने भाग लिन पाउने छैनन्। उनी डपिङको मुद्दा किनारा नलागुञ्जेलसम्मका लागि खेल्नमा रोक नलगाइएको भए पनि पदक वितरणमा भने सहभागी हुने छैनन्। 

यसअघि पनि रुसी खेलाडीमाथि प्रतिबन्धित औषधिको विषयमा विभिन्न किसिमको मुद्दा चल्दै आएको थियो। तर, यसपटक भने विवादको केन्द्रमा १५ वर्षीया खेलाडी देखिएकी छिन्। 

भालिएभाको लागि ओलम्पिक विजेता बन्नु सानैदेखिको सपना थियो।

‘मैले सायद ३ वर्षको उमेरदेखि नै मेरो आमालाई म ओलम्पिक विजेता बन्न चाहन्छु भनेको थिएँ’, बीबीसीसँगको कुराकानीमा उनले भनिन्। 

रुसको कजानमा जन्मिएकी भालिएभाले ३ वर्षको उमेरदेखि नै स्केटिङ खेल्न सुरु गरेकी थिइन्। उनले जिम्न्यास्टिक तथा ब्यालेटमा पनि खेल्थिन् तर उनकी आमाले उनलाई एउटा मात्र विकल्प छान्ने अवसर दिइन्। त्यसैले उनले स्केटिङ छानिन्। 

भालिएभा ६ वर्षको हुँदा उनीहरु मस्को बसाइँ सरे। मस्को आएपछि उनले एटेरी टुटबेरिजको प्रशिक्षणमा स्केटिङ सिक्ने मौका पाइन्। टुटबेरिजले यसअघि नै पनि केही स्केटरलाई अन्तर्राष्ट्रिय सफलता दिलाइसकेकी थिइन्। भालिएभा पनि टुटबेरिजको प्रशिक्षणले आफूलाई निकै सकारात्मक ऊर्जा मिलेको बताउँछिन्।

बेइजिङ ओलम्पिकमा आउनुभन्दा पहिला नै भालिएभा स्केटिङमा चर्चित बनिसकेकी थिइन्। उनले स्केटिङमा आफ्नो असाधारण क्षमता र निकै कठिन मुभहरु देखाउँदै सबैलाई आश्चर्यमा पार्दै आएकी थिइन्। 

क्वाड्रुपल जम्पलाई महिलाको खेल मानिँदैन। यो निकै कठिन खेल मानिन्छ। यो खेलमा प्रतिस्पर्धीले एक सकेण्डभन्दा कम समयमा चारपटक फनन्न घुमेर पछाडिपट्टीबाट एउटा मात्र ब्लेडमा ल्याण्ड गर्नुपर्ने हुन्छ। 

भालिएभाले निकै कुशलतापूर्व उक्त खेल पूरा गरिन्। बरफमा खेलिने खेलका अलावा भालिएभालाई भ्रमण गर्ने, विभिन्न भाष सिक्ने र मोटरसाइकल चलाउने रहर छ। साथै उनी आफू भविष्यमा मनोविद् बन्न सक्ने बताउँछिन्।

रुसका समर्थकले बेइजिङ ओलम्पिकका अन्य खेलको लागि भालिएभालाई अनुमति दिएकोमा खुसी व्यक्त गरेका छन्। 

कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स (सीएएस)ले उनलाई बाँकी खेलको लागि अनुमति दिने निर्णय उनको उमेर हेरेर लिएको उल्लेख गरेको छ। यद्यपि वल्र्ड एन्टि डपिङ एजेन्सी वाडाले भने अदालतको  निर्णयबाट दुखी भएको प्रतिक्रिया दिएको छ। 

भालिएभाप्रति सदासयता राख्नेको संख्या भने ठूलो छ। ग्लोबल एथ्लेट ग्रुपले भनेको छ, ‘उनले प्रतिबन्धित औषधिको प्रयोग गरेको पुष्टि हुनु भनेको कनिष्ठ खेलाडीहरुमाथि हुने गरेको दुर्व्यवहारको प्रमाण हो। खेल क्षेत्रले आफ्ना खेलाडीको रक्षा गर्नुपर्छ, उनीहरुलाई तहसनहस पार्ने होइन।’

जर्मनीकी पूर्व स्केटर क्याटरिना विट यो मुद्दामा भालिएभालाई दोष लगाउनु गलत हुने बताउँछिन्। 

‘खेलाडी भएपछि तपाईँले सधैं आफ्ना विश्वसिला मानिसले भनेको मान्नुपर्छ। भालिएभाले पनि  सायद आफ्ना प्रशिक्षक र मेडिकल टिमको परामर्शकै अनुशरण गरेकी होलिन्’, सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘सबैलाई निकै सानो उमेरदेखि नै उनीहरुमाथि भरोशा गर्नुपर्छ भन्ने सिकाइएको हुन्छ।’ 

‘डपिङले उनलाई यस(क्वाड्रुपल जम्प)मा कुनै सहयोग गर्दैन’ उनले थपिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .