राष्ट्रिय खेलकुद परिषद्ले बंगलादेशमा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने प्रस्ताव सरकारलाई गर्ने भएको छ।
शुक्रबार विमानस्थलमा स्वागत गर्दै राखेप सदस्यसचिव रमेश सिलवालले सरकारलाई उक्त रकमका लागि प्रस्ताव गरिएको बताए।
सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्यलाई जनही ३ लाखका दरले पुरस्कार दिइने प्रस्ताव सरकारलाई गरिएको सदस्यसचिव सिलवालले बताए।
पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै बिहीबार नेपाली चेलीहरुले इतिहास रचेका थिए।
ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहीबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो।
यो नेपाली भलिबल इतिहासको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो। यसअघि २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक थियो।
सेन्ट्रल जोनमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो। माल्दिभ्समाथि पहिलो सेटमा २५–१३ को जित निकालेको नेपालले दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–८ सहज जित निकालेको हो।
नेपाली महिला भलिबलले अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा तीन कास्यपदक जितेको थियो। यस्तै पुरुष भलिबल टोली पनि हालसम्म कास्य पदकभन्दा माथि उठ्न सकेको छैन। पुरुष टोलीले एभीसी सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्यपदक जितेको थियो।
शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको थियो। राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली नेपाल र माल्दिभ्सले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया