शनिबार भएको ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले १–१ गोलको बराबरी खेलेका हुन्।
यो बराबरीसँगै तालिकाको दोस्रो स्थानमा रहेको मनाङलाई उपाधि होडमा धक्का लागेको छ। यसले शीर्ष स्थानको मच्छिन्द्रलाई ६ अंकको अग्रता मिलेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा स्पष्ट जितका लागि आक्रामक खेल खेलेका दुवै टोलीले एक-एक गोल गर्दै अंक बाँडे।
६२ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।
कप्तान अन्जन विष्टको क्रसमा दयानन्दले हेडरमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। तर मनाङको अग्रता धेरै समय टिकेन।
७१ औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन।
यस बराबरीसँगै मनाङले १० खेलमा २० अंक जोडेको छ । मनाङ लिगको दोस्रो स्थानमा यथावत रहँदा थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
लिगमा आइतबार दुई खेल हुनेछन् । दुवै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन्।
दिनको पहिलो खेल न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा तथा दोस्रो खेल आहा राराको पछिल्लो संस्करणको विजेता एपिएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
Shares
प्रतिक्रिया