ad ad

खेल


सातदोबाटोले पुलिसलाई हराउँदा मच्छिन्द्रलाई पनि सफलता

सातदोबाटोले पुलिसलाई हराउँदा मच्छिन्द्रलाई पनि सफलता

फाइल फोटो


नेपालखबर
माघ २९, २०७८ शनिबार १८:३३, काठमाडौँ

राजधानीमा जारी सहिद स्मारक 'ए' डिभिजन लिगमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो युथ क्लबले पराजित गरेको छ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबलाई हराएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १-० ले पराजित गरेको हो। 

सातदोबाटोलाई जिताउन आकाश बुढामगरले १९औँ मिनेटमा गरेको गोल निर्णायक भएको हो। 

यससँगै सातदोबाटो बाटोले डेब्यु सिजनमै बलियो टोलीमध्येको पुलिसमाथि अर्को सफलता निकालेको छ। 

यस अघि सातदोबाटोले थ्री स्टार र मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै जारी लिगमा सनसनी मच्याएको थियो।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्रभित्र आकाशलाई फाउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो। 

आकाशले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। जुन गोल तीन अंकका लागि पर्याप्त बन्यो ।

यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ । पुलिस १० औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत दशरथ रंगशालामा नै भएको अर्को खेलमा शीर्ष स्थानको मच्छिन्द्रले रेलिगेशन क्षेत्रको पुछारमा रहेको च्यासलमाथि २-० को जित निकाल्यो। 

राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्रको जितमा विमल घर्ती मगर र सुनिल बलले एक-एक गोल गरे। मच्छिन्द्रले पहिलो हाफमा गरेको गोल नै तालिकामा शीर्षता कायम राख्न सहयोग पुग्यो।

तुलनात्मक रुपमा कमजोर देखिएको च्यासलविरुद्ध मच्छिन्द्रले सुरुआतदेखि नै दबाब दिएर खेलेको थियो। त्यही क्रममा १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए। 

रञ्जित धिमालको कर्नरमा विमलले उत्कृष्ट हेडर गोल गरे। त्यसको ८ मिनेटपछि सुनिल बलले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए। 

विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्रबाट जाली चुमाएका  थिए। तर दोस्रो हाफको खेलमा भने मच्छिन्द्रलाई झट्का लाग्यो। 

सुनिलको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी विपक्ष च्यासलका यानिक केचासँग जुध्न पुग्दा मैदानमा लडेका थिए। 

उनलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो। त्यसपछि थप उपचारका लागि मनिषलाई  त्रिपुरेश्वरको ब्लु क्रस अस्पताल लगिएको छ। अस्पताल प्रशासनले मनिष खतरामुक्त भएको जनाएको छ।

जितपछि शीर्ष स्थानको मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ। समान १० खेलमा ५ अंको जोडेको च्यासल तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .