ad ad

खेल


यूएईसँग नेपाल २५ रनले पराजित

यूएईसँग नेपाल २५ रनले पराजित

नेपालखबर
माघ २९, २०७८ शनिबार १५:५, काठमाडौँ

चारदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ। 

यूएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रनमा समेटियो। 

नेपालका लागि दीपेन्द्रसिंह ऐरी ४१, आसिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले १० रन जोडे। 

नेपालले आज ओपनरमा प्रदीप ऐरीको स्थानमा ज्ञानेन्द्र मल्ललाई पठाएको थियो। पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ सेखले ३६ बलमा ५३ रनको साझेदारी गरेका थिए।  

छैटौं ओभरको अन्तिम बलमा कासिफ दाउदको बलमा मोहम्मद वासिमले ज्ञानेन्द्रलाई क्याच गराउँदै पवेलियन फर्काए। ज्ञानेन्द्रले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे। 

यस्तै दशौं ओभरमा २९ बलमा ४ चौका र एक छक्का प्रहार गरेका आसिफलाई रोहन मुस्तफाल कट एण्ड बोल्ड पारे। लगत्तै क्रिजमा आएका आरिफ सेख पनि धेरै बेर टिक्न सकेनन। 

उनले १२ बल खेल्दै ११ रन जोडे। आक्रामक ब्याट्सम्यानका रुपमा चिनिएका लोकेश बमले २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए।अन्तिम ओभरमा उनले २ छक्का हिर्काएका थिए। अन्तिम ओभरको अन्तिम बलमा उनी क्याच आउट भएका थिए। 

यस्तै शरद भेषावकर ८ बलमा एक चौकासहित १० रनमा नटआउट रहे। यूएईका रोहन मुस्तफा र कासिफ दाउदले समान २-२ तथा जान्यूद सिद्दीकीले १ विकेट लिए।

त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन जोडेको थियो।  

यूएईका ओपनर चिराग सुरीले ८४ रनको  सानदार नटआउट इनिङ्स खेल्द टोलीलाई उक्त स्कोरमा पुर्याएका हुन्। ५३ बलको सामना गरेका सुरीले ५ चौका र ५ छक्का प्रहार गरे। 

दोस्रो विकेटका लागि सुरीले रोहन मुस्ताफासँग ९७ रन रनको साझेदारी गर्दै यूएईको इनिङ्स अघि बढाएका थिए। 

यूएईका पूर्वकप्तान रोहनले ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रन जोडे। अर्धशतक बनाउँन एक बल बाँकी हुँदा उनलाई चौधौ ओभरको तेस्रो बलमा आरिफ सेखले विकेटकिपर आसिफ सेखको हातबाट क्याच गराएका थिए। 

यस्तै यूएईका अर्का ओपनर मोहम्मद वासिमले २२ रन जोडे। १३ बलमा उनले एक चौका र २ छक्का प्रहार गरेका थिए। मोहम्मद बुटाले ८ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए। 

नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चिएर १ विकेट लिए । यस्तै सहाब आलाम र आरिफ सेखले समेत १-१ विकेट लिए।

आठ बलरको प्रयोग गरेपनि नेपाली बलरहरु महँगा सावित भए। कमलसिंह ऐरीले ४ ओभरमा ४२ रन खर्चे। यस्तै सहाब आलामले २ ओभरमा ३५, विवेक यादवले १ ओभरमा २०, जितेन्द्र मुखियाले ३ ओभरमा २५, शरद भेषावकरले २ ओभरमा १७ र आरिफ सेखले २ ओभरमा १६ रन खर्चिए। 

आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाल, यूएई, आयरल्याण्ड र ओमानले चारदेशीय टी–२० शृंखला खेल्दैछन। 

नेपालले यसअघि शुक्रबार ओमानसँग भएको खेल ६ विकेटले जितेको थियो। नेपालले अब सोमबार आयरल्याण्डसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .