नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार साँझ स्वदेश आइपुगेकी छन्।
कतारमा घुँडाको शल्यक्रिया गराएकी साम्बा सात महिना भन्दा लामो समयपछि स्वदेश फर्केकी हुन्। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष, महिला समितिकी संयोजक पेमा लामा, संगिना वैद्यलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

उपचारका लागि साम्बा असार १२ गते कतार गएकी थिइन्। असार ३१ गते कतारको दोहास्थित अस्पेटार अस्पतालमा उनको दायाँ घुँडाको शल्यक्रिया भएको थियो। एन्फाको पहलमा कतार फुटबल संघले उनको उपचार गराइदिएको थियो।
राष्ट्रिय लिग खेल्ने क्रममा गत फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो। सावित्राको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ। सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमा परिचित छिन्।
Shares

प्रतिक्रिया