ad ad

खेल


पारस खड्काको विरासत अघि बढाउने जिम्मेवारी आएको छः सन्दीप लामिछाने (अन्तर्वार्ता)

पारस खड्काको विरासत अघि बढाउने जिम्मेवारी आएको छः सन्दीप लामिछाने (अन्तर्वार्ता)

नेपालखबर
माघ २३, २०७८ आइतबार २०:५९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछिल्लोपटक २०१४ मा पारस खड्काको नेतृत्वमा आईसीसी पुरुष टी–२० विश्वकप खेलेको थियो। आगामी विश्वकप यसै वर्षको अन्त्यमा अस्ट्रेलियामा हुँदैछ। जसको ग्लोबल क्वालिफायर फेब्रुअरी १८ देखि ओमानमा सुरु हुँदैछ। 

ग्लोबल क्वालिफायरमा आयोजक ओमानसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र यूएई गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आठ टोलीलाई चार–चार गरी समूह ए र समूह बीमा विभाजन गरिएको छ। नेपाल रहेको समूह एमा क्यानडा, ओमान र फिलिपिन्स छन्। अर्को समूहमा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। 

एउटा टोलीले समूहका अन्य तीन टोलीसँग खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा आयोजक ओमान, फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडाविरुद्ध खेल्नेछ। दुवै समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उक्त सेमिफाइनलबाट फेब्रुअरी २४ मा हुने फाइनलमा पुग्ने दुई टोली विश्वकपमा छनोट हुनेछ।

यसपल्ट पुनः विश्वकप खेल्ने सपनासहित नेपाली टोली मंगलबार ओमान प्रस्थान गर्दैछ। ओमान प्रस्थान गर्नुअघि आइतबार त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका नयाँ कप्तान सन्दीप लामिछानेले २०१४ मा पारस खड्काले बनाएको विरासतलाई निरन्तरता दिने जिम्मेवारी आफूहरु कहाँ आइपुगेको बताए।

प्रस्तुत छ, सञ्चारकर्मीसँग सन्दीपले गरेको कुराकानीको अंशः 

विश्वकप छनोटको तयारी कस्तो चलिरहेको छ?
प्रशिक्षण एकदम राम्रो छ। गुणस्तरीय प्रशिक्षण भइरहेको छ। म बिग ब्यासमा थिएँ। अरु खेलाडीहरु प्रशिक्षणमा व्यस्त हुनुहुन्थ्यो। अहिलेसम्मको सेटअप राम्रो छ। बीचमा कोभिडले गर्दा तलमाथि भयो। तर अहिले नेपालमा अभ्यास सकाउँदा हामी राम्रो सम्भावना बोकेर जादैँछौँ। 

२०१४ पछि दोस्रोपटक विश्वकप खेल्ने सपना बोकेर जादैँछौँ। त्यसका लागि नेपाली टोली कति तयार छ?
२०१४ पछि अहिलेसम्म विश्वकप खेलेका छैनौँ। हामीले आफ्नो तर्फबाट दिनुपर्ने शतप्रतिशत दिनेछौँ। सबै खेलाडीहरुको पोटेन्सियल र ट्यालेन्ट हेर्दा, धेरैपछि यतिधेरै खेलाडीहरु क्याम्पमा आएर प्रशिक्षण भएको छ। हामी प्रतियोगितामा आफ्नो शतप्रतिशत दिनेछौँ। 

यसपल्ट कप्तानका रुपमा प्रतियोगिता खेल्न जाँदा केही फरक महसुस गर्नुभएको छ?
फरक खासै धेरै छैन। पहिले कप्तान नभए पनि आफूलाई लिडरको भूमिकामा राख्थेँ। किनभने बलिङ डिपार्टमेन्ट मैले लिड गर्नुपर्ने हुन्छ। आफूले जिम्मेवारी लिएर अरुका लागि कम्फरटेबल बनाएँ भने टिमको ब्याटिङ बलिङ दुवै साइडका लागि सजिलो हुन्छ। कप्तान नयाँ भूमिका भए पनि यो छसात वर्षको क्रिकेट करिअरमा सबै खेलाडीको नजिकमा गएर कुरा गरिरहेकै हुन्छु। फिल्डभित्र र फिल्डबाहिर पनि। सकेसम्म फिल्डमा कसरी हुन्छ उहाँहरुको लागि राम्रो वातावरण बनाइदिने मेरो भूमिका हुन्छ। 

विपक्षी टोलीहरुलाई कसरी लिनुभएको छ?
हामीले उनीहरुका भिडिओहरु हेरिरहेका छौं। योजनाहरु बनाइरहेका छौं। ती मैदानमा गएर कसरी कार्यान्वायन गर्ने, त्यसमा हामी निरन्तर लागिरहेका छौं। 

योभन्दा अगाडि पारस खड्काको नेतृत्वमा एउटा विश्वकप खेल्यौँ। तपाईंलाई लागि पनि यो इतिहास रच्ने अवसर हो। त्यसले दबाब महसुस गराउँछ कि उप्रेरित बनाउँछ?
२०१४ को विश्वकपमा पारस दाइले एउटा लिगेसी बनाएर छाड्नुभएको छ। अहिले मलाई मात्रै होइन कि सबै खेलाडीलाई त्यो लिगेसी अगाडि लैजाने जिम्मेवारी आएको छ। २०१४ को मोमेन्टमलाई फेरि फिर्ता ल्याएर विश्वकप खेल्ने सबै नेपाली जनताको चाहना छ। यसपालि हामीले राम्रो टोली पाएका छौं। एकदुई खेलाडी मिस गरे पनि सबैजना राम्रो भएकाले कसैको कमी महसुस हुनेछैन। 

विश्वकपमा छनोट हुने सम्भावना कति देख्नुहुन्छ?
इमान्दार भएर भन्दा एकदमै धेरै सम्भावना छ। पछिल्ला वर्षमा जुन किसिमको क्रिकेट नेपालले खेलिरहेको छ, तथ्यहरुले पनि बताउँछ। खेलाडीहरुको व्यक्तिगत प्रदर्शनहरु पनि र लगत्तै भएका प्रतियोगिताहरुमा पनि एकदुई वटाबाहेक सबै खेलमामा हामीले राम्रो नै गरिरहेका छौं। 

विवेक यादव र लोकेश बमले पहिलोपल्ट टिममा स्थान बनाएका छन्। उनीसँग धेरै आशा पनि गरिएको छ। कस्तो प्रदर्शन गरिरहेका छन्?
दुवैसँग एकदमै उत्कृष्ट प्रतिभा छ। विवेक पर्फेक्ट अलराउन्डर हो। भोलिको समयमा अझै राम्रो भूमिका खेल्ने खेलाडी हुनसक्छन्। लोकेशले प्रधानमन्त्री कप र यू १९ बाट नै आफूलाई प्रमाणित गरिरहेका छन। डेथ ओभरका लागि उनी पर्फेक्ट छन्। उनीहरु दुवै जना आफ्नो प्रतिभाले यहाँसम्म पुगेका हुन्। 

टोलीमा केही कमजोरी छ जस्तो लाग्छ कि लाग्दैन?
छैन, हामीले केही कमजोरी गरिरहेका छौं भन्ने लाग्दैन। कोभिडले केही खेलाडीले अभ्यास गुमाए पनि आउने बेला हामी तीनवटा टी २० अन्तर्राष्ट्रिय खेल्दैछौँ। अहिलेका लागि सबैजना तयार अवस्थामा छौं। सबैको नजर प्रतियोगितामा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .