खेल


चलायमान अलमुताइरी : १० महिनामा ११ खेलाडीलाई गराए डेब्यु

अन्तर्राष्ट्रिय एक्सपोजरले खारिँदै खेलाडी
चलायमान अलमुताइरी : १० महिनामा ११ खेलाडीलाई गराए डेब्यु

राष्ट्रिय टोलीमा डेब्यु गरेका ११ खेलाडी र प्रशिक्षक अब्दुल्लाह अलमुताइरी


यज्ञराज जोशी
माघ २१, २०७८ शुक्रबार १७:११, काठमाडौँ

यसै हप्ता दशरथ रंगशालामा भएको मोरिससविरुद्धको दुई मैत्रीपूर्ण फुटबल खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन खेलाडीलाई डेब्यु गराए। 

मोरिससविरुद्धको पहिलो खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढामगरले डेब्यु गरे। दोस्रो खेलमा प्रशिक्षक अलमुताइरीले नविन गुरुङलाई मैदान छिराउँदै राष्ट्रिय टोलीको अनुभव दिलाए। 

यससँगै २०७७ चैतमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका अलमुताइरीले डेब्यु गराएका खेलाडीको संख्या ११ पुगेको छ। 

२०७८ जेठमा इरानविरुद्धको मैत्रीपूर्ण खेलमा अलमुताइरीको प्रशिक्षणमा पहिलोपल्ट नेपाली टोली मैदान उत्रिएको थियो। त्यसयता अलमुताइरीले नेतृत्वमा नेपालले १४ खेल खेल्दा ११ खेलाडीले डेब्युको अवसर पाएका हुन्। 

मोरिससविरुद्धको खेलका लागि अलमुताइरीले ९ नयाँ खेलाडीसहित ३४ जनालाई बन्द प्रशिक्षणमा बोलाएका थिए। बन्द प्रशिक्षणमा रहेका सबैलाई उनले राष्ट्रिय टोलीमा समेटे। उनको तर्क थियो– मेरो उदेश्य खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिनु हो।’
 

‘नतिजाभन्दा पनि खेलाडीलाई एक्सपोजर दिन केन्द्रित छु। खेलाडीले अन्तर्राष्ट्रिय खेलमा एक्सपोजर पाऊन् भन्ने उदेश्य हो,’ उनी भन्छन्, ‘यसले खेलाडीलाई भविष्यमा अन्तर्राष्ट्रिय खेलका लागि तयार गर्छ। म नतिजाभन्दा पनि राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छ।’

नयाँ खेलाडीलाई डेब्यु गराउने अलमुताइरीको सिलसिला उनको पहिलो खेलबाटै सुरु भएको थियो। २०७८ जेठमा इराकविरुद्धको खेलमा उनले ए डिभिजनको अनुभव नै नभएका मनिष डाँगीलाई सिधै राष्ट्रिय टोलीमा स्थान दिए। 

उक्त खेलमा एसियाली फुटबलको पावर हाउस इराकविरुद्ध नेपाल ६–२ गोलअन्तरले पराजित भएको थियो। जसमा नेपालका तर्फबाट गोल गर्ने एकमात्रै खेलाडी तिनै मनिष थिए। अर्को गोल नेपालले आत्मघाती उपहार पाएको थियो। 

मनिषले प्रशिक्षक अलमुताइरीको विश्वासलाई त्यतिमा मात्रै सीमित राखेनन्। गत अक्टोबरमा भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समा ऐतिहासिक जित निकाल्दा मनिषले निर्णायक गोल गरे।

नेपालले १–० गोलको जित निकालेको थियो। साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध ७ खेल खेल्दा जितेको त्यो नै पहिलो जित थियो। 

इराकविरुद्धको खेलमा नै त्रिभुवन आर्मी क्लबका डिफेन्डर गौतम श्रेष्ठलाई समेत अल्मुताइरीले डेब्यु गराएका थिए। त्यसयता उनी राष्ट्रिय टोलीबाट छुटेका छैनन्। उनले नेपालबाट १२ क्याप जितिसके।

त्यसपछि अलमुताइरीले गत जुनमा अस्ट्रेलियाविरुद्ध विश्वकप २०२२ को छनोट खेलमा कमल थापा, आयुष घलान र सुरजज्यु ठकुरीलाई र सेप्टेम्बरमा दशरथ रंगशालामा भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नितीन थापा, विशाल श्रेष्ठ र राजन गुरुङलाई गरी कुल ११ खेलाडीलाई डेब्यु गराइसकेका छन्। 

मोरिससविरुद्धको पहिलो खेलमा डेब्यु गरेका डिफेन्डर सुदीप गुरुङ र मिडफिल्डर आकाश बुढामगर दुवै ए डिभिजन लिगमा जारी सिजनको नवप्रवेशी क्लब सातदोबाटो युवा क्लबबाट खेलिरहेका खेलाडी हुन्। 

क्लबमा प्रशिक्षक मेघराज केसीले उनीहरुलाई हुर्काइरहेका थिए। अलमुताइरी जोखिम लिने प्रशिक्षक भएको र नयाँ खेलाडीलाई मौका दिएर नेपाली बेन्च बलियो बनाइरहेको केसी बताउँछन्। 

‘नेपाली कोचसँग पावर पनि हुन्थेन। रिस्क लिन पनि सक्थेनन्। विदेशी प्रशिक्षकले रिस्क मोलेरै नयाँ खेलाडीलाई डेब्यु गराइरहेका छन्। त्यसले टिमलाई फाइदा गर्छ,’ केसी भन्छन्, ‘जति धेरै खेलाडी भयो, त्यति आन्तरिक प्रतिस्पर्धा बढी हुन्छ। आफ्नो स्थान जोगाउन खेलाडीहरुमा पनि मेहनत गर्ने बानी बढी हुन्छ।’
मनिष र आयुषको उदाहरण दिँदै केसीले डेब्यु गरेका खेलाडीले राम्रो गरिरहेको बताए।

‘डेब्यु गराएका कति खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। ए डिभिजन लिग नखेलेका खेलाडीलाई मौका दिइएको छ र उनीहरुले राम्रो प्रदर्शन देखाएका पनि छन्,’ केसीले भने, ‘उनीहरुले रिजल्ट दिनु नै अलमुताइरीको प्रयोग सफल हुनुको उदाहरण हो।’

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जनले अलमुताइरीले अधिकांश मैत्रीपूर्ण खेलमा नयाँ खेलाडीलाई मौका दिएको भन्दै ट्रायल बेसिसमा खेलाडी हेरिरहेको बताए। 

‘मुख्य प्रतिस्पर्धा लामो समयपछि छ भने धेरैलाई मौका दिएर ट्रायलको रुपमा हेरिएको हो,’ महर्जनले भने, ‘राष्ट्रिय टोलीमा त्यो खेलाडी फिट हुन्छ हुँदैन भन्न हेर्न खोजिएको छ। मैत्रीपूर्ण खेलमा नयाँ खेलाडीलाई मौका दिनु सकारात्मक कुरो हो।’

महर्जनले जति बढी खेलाडीहरु टोलीमा भयो, त्यति बढी एउटै पोजिसनका लागि धेरै विकल्प हुने बताए। उक्त पोजिसनका खेलाडीहरु घाइते भएमा अन्य विकल्प पनि तयार हुने भएकाले भविष्यमा टिममा यसले राम्रो प्रभाव पार्ने उनी बताउँछन्। 

अलमुताइरीले डेब्यु गराएका खेलाडी
मनिष डाँगी, गौतम श्रेष्ठ– इरानविरुद्ध, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण(२०२१, मे)
कमल थापा, आयुष घलान र सुरजज्यु ठकुरी– अस्ट्रेलियाविरुद्ध विश्वकप छनोट (२०२१, जुन)
नितीन थापा, विशाल श्रेष्ठ र राजन गुरुङ– भारतविरुद्ध, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण (२०२१, सेप्टेम्बर)
सुदीप गुरुङ, आकाश बुढामगर र नवीन गुरुङ– मोरिससविरुद्ध, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण (२०२२, फेब्रुअरी) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .