खेल


प्रधानसेनापति खुला म्याराथन फागुन १४ मा

प्रधानसेनापति खुला म्याराथन फागुन १४ मा

नेपालखबर
माघ २०, २०७८ बिहिबार १६:१०, काठमाडौँ

सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ। ‘मनोरञ्जनका लागि खेल : एकता, सामूहिक भावना र सामर्थ्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन विधा समावेश गरिएको छ।

नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किमी पुरुष म्याराथन तथा २१ किमी महिला÷पुरुष हाफ म्याराथन गर्न लागिएको केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिए।

सैनिक अधिकृत र सैनिक सहचारी महिला/पुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सो भन्दा माथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन पनि आयोजना हुने जानकारी दिइयो ।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ। हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ।

म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रालिले यामाहा मोटरसाइकल तथा काठमाडौँ महानगरपालिकाले स्पोन्सरस्वरुप हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर प्रदान गर्ने छ।

म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पुरस्कारस्वरुप पनि मोटरसाइकल उपलब्ध हुनेछ। ती सबै प्रतियोगितामा करिब एक हजार १५० धावकको सहभागिता हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा भाग लिन चाहनेलाई व्यक्तिगत र संस्थागतरूपमा शुक्रबारदेखि नाम दर्ताको व्यवस्था गरिएको सेनाले जनाएको छ। प्रतियोगितामा रक्षा मन्त्रालय, युवा तथा खेलकुद, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, पत्रकार खेलकुद मञ्चका धावक प्रतिनिधि तथा अन्य आमन्त्रितले भाग लिने छन्।

सेनाले मनोरञ्जनका लागि खेल नामकरण गरी ‘एकता नै बल हो, आउनुस् खेलका माध्यमबाट हातेमालो गरौँ’ भन्ने नाराका साथ विसं २०७२ बाट प्रतियोगिता आरम्भ गरेको हो। पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहले सेनाबिनाको खेल अपूरो रहने भएकाले सङ्घले सेनाका खेल गतिविधिमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए।

सेनाका प्रवक्ता नारायण सिल्वालले नागरिक–सैनिक सम्बन्ध विकासमा प्रतियोगिता केही हदसम्म सफल रहे पनि आगामी दिनमा थप मेहेनत गर्न आवश्यक रहेको विचार प्रकट गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad