खेल


सी चिनफिङ भन्छन्– चीनले सुरक्षित र भव्य ओलम्पिक आयोजना गर्छ

सी चिनफिङ भन्छन्– चीनले सुरक्षित र भव्य ओलम्पिक आयोजना गर्छ

नेपालखबर
माघ २०, २०७८ बिहिबार १३:५६, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले शीतकालीन ओलम्पिक सुरक्षित र भव्यरुपमा सम्पन्न हुने बताएका छन्।

बिहीबार चिनियाँ राजधानी सहर बेइजिङमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को सत्रलाई सम्बोधन गर्दै उनले चीनले सन् २००८ यता नै ओलम्पिकमा सक्रियरुपमा भाग लिँदै आएको बताएका हुन्। भिडियो सन्देश दिँदै चिनफिङले शीतकालीन ओलम्पिकमा ३० करोड चिनियाँ नागरिकहरु जोडिने बताएका हुन्। 

‘सन् २००८ को ‘एक विश्व–एक सपना’देखि २०२२ को ‘साझा भविष्यको लागि एकसाथ’ भन्ने नारासम्म चीनले सक्रियतापूर्वक ओलम्पिक गतिविधिमा भाग लिँदै आएको छ र निरन्तर ओलम्पिकको भावना अनुसार सहभागी हुँदै आएको छ’, उनले भने। 

शुक्रबारदेखि चीनको राजधानी सहर बेइजिङमा आधिकारिकरुपमा शीतकालीन ओलम्पिक आयोजना हुँदै छ। बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने पहिलो सहर बन्नेछ। यद्यपि यसपटकको ओलम्पिकको तयारी भने कोरोना महामारी र कूटनीतिक बहिस्कारको कारण  प्रभावित भएको थियो। 

अधिकारवादी संस्थाहले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई चीनमा शीतकालीन ओलम्पिक आयोजनाको अधिकार चीनलाई दिएकोमा आलोचना गर्दै आएका छन्। 

आईओसीका अध्यक्ष थोमस बाचले भने चीनमा शीतकालीन ओलम्पिक आयोजना गर्ने निर्णयको निरन्तर बचाउ गर्दै आएका छन्। आईओसीले आफूहरु राजनीतिक निकाय नभएको र कुनै सार्वभौम मुलुकको कानुनमा हस्तक्षेप गर्नु यसको नियम रहेको बताउँदै आएको छ। 

आईओसीका प्रमुख बाचले बिहीबार पछिल्लो समय ओलम्पिकलाई निरन्तर राजनीतीकरण गर्ने प्रयास भइरहेको बताएका छन्। 

चीनलाई शुभकामना 
यसैबीच विभिन्न मुलुकले शीतकालीन ओलम्पिक र पारालम्पिकको सफलतापूर्वक आयोजनाको लागि चीनलाई शुभकामना दिएका छन्।

राष्ट्रपति चिनफिङलाई पत्र लेख्दै उनीहरुले शुभकामना सन्देश पठाएका हुन्। भियतनाम, लाओस, मलेसियाका राष्ट्रप्रमुखले चीनलाई शीतकालीन ओलम्पिक सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना पठाएका छन्। 

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चीनलाई ओलम्पिकको शुभकामनासहितको पत्र पठाएकी छिन्।

किर्गिस्तान, तुर्केमेनिस्तान, उज्वेकिस्तान, बेलारुस, अजरबैजान, सर्विया, हंगेरी, पोर्चुगल, साउदी अरेबिया, जिम्बाबे, भेनेजुयला, निकारागुआ र ग्रीसले पनि चीनलाई शुभकामना सन्देश पठाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad