ad ad

खेल


२ वर्षपछि आकर्षक गोलसहित मैदान फर्किए रेजिन

२ वर्षपछि आकर्षक गोलसहित मैदान फर्किए रेजिन

२ वर्षपछि मैदान फर्किएका मछिन्द्र क्लबका रेजिन सुब्बा। तस्बिर साैजन्य: सुबास हुमागाईं


लक्ष्मी जि.सी
माघ २, २०७८ आइतबार १७:३६, काठमाडौँ

कोरोना महामारी र चोटका कारण करिब दुई वर्ष मैदानबाहिर रहेका मछिन्द्र क्लबका रेजिन सुब्बाले शहिद स्मारक ए डिभिजन लिगको नवौँ चरणमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँगको खेलबाट पुनरागमन गरेका छन्। 

पुनरागमन खेलमा नै गोल गरेका रेजिनले त्यो गोल अर्जुन कार्कीलाई समर्पण गरे। रेजिनलाई उपचारका लागि कतारसम्म लैजानका लागि उनको व्यवस्थापकीय जिम्मेवारी अर्जुनले लिएका थिए।

गोल गरेपछि निकै भावुक देखिएका रेजिन खेलपछिको पत्रकार सम्मेलनमा पनि भावुक भए। 

रेजिनले भने, ‘धेरैपछि खेलेको भएर अलिक कस्तो भयो।’ 

पत्रकारको प्रश्नमा जवाफ दिँदै गर्दा गोलपछिको त्यो क्षणलाई व्याख्या गर्ने शब्दको अभाव भएको उनको आँखा र अनुहारमा प्रष्ट देखिन्थ्यो।  

दायाँ कुर्कुच्चामा चोट लागेपछि मैदानबाहिर रहेका रेजिनले नेपालमा नै शल्यक्रिया गराएका थिए। 

चाँडो मैदान फर्किने आशामा व्यक्तिगत खर्चमा कतारको विश्वप्रसिद्ध अस्पताल अस्पेटार पुगेका उनी स्वदेश फर्किएको केही समयमा नै खेलमा फर्किएका हुन्। 

व्यक्तिगत खर्चमा कतार
अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उनको उपचारका लागि अझै ६–७ महिना कुर्नुपर्ने भएपछि रेजिन व्यक्तिगत खर्चमा कतार पुगेका थिए।

कतार पुगेर करिब १ साताको क्वारेन्टिन बसाइपछि पनि रेजिनले सिधै डाक्टरसँग भेट गर्न पाएनन्। 

कतार पुगेको १० दिनपछि डाक्टरसँग भेट गरेका रेजिनले फिजियो सुरु गरे। ग्राउण्ड रिह्याब गरेको दुई दिनमा नै उनको फिजियोलाई कोरोना संक्रमण देखिएपछि रिह्याब पनि गर्न पाएनन्। 

कतारमा ६ दिन यसै बसेका उनी त्यसपछि स्वदेश फर्किए। नेपाल फर्किएपछि प्रशिक्षण सुरु गरेका रेजिनले दुःखाइ महसुस गरेपछि दुई दिन आराम गरे। खेलअघि पुनः प्रशिक्षणमा जुटेका उनी बीबीसीविरुद्धको खेलमा मैदान उत्रिए। 

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आफुलाई विश्वास गरेको रेजिन मान्छन्। त्यहीअनुसार आफूले खेल्न कोसिस गरेको रेजिन सुनाउँछन्। 

उनले भने, ‘कोचले विश्वास गरेर मैदानमा छिराउनुभयो, खेल्न निकै गाह्रो भएको थियो तर जबर्जस्ती भए पनि खेलेँ।’ 

खेलसँगै ग्राउण्ड रिह्याबलाई पनि सँगै अगाडि लैजाँदै विस्तारै टोलीसँग भिज्दै जाने रेजिनको तयारी छ। 

८४औँ मिनेटमा गोल
खेलको पहिलो हाफको इन्ज्युरी समयमा विदेशी खेलाडी नुरलान जाहितको स्थानमा मैदान छिरेका उनले ८४औँ मिनेटमा गोल गरेका थिए। 

बीबीसीविरुद्ध ह्याट्रिकको संघारमा रहेका विमल घर्तिमगरले मिलाई दिएको पासमा रेजिनले गोल गरेका थिए। 

राष्ट्रिय यु–२३ टोलीको प्रशिक्षणका दौरान दायाँ खुट्टाको गोलीगाँठोमा चोट बोकेका रेजिन करिब २ वर्ष फुटबलबाट टाढा रहे। कतारमा गत पुस १२ गते एमआरआई गर्दा उनको घुँडाको मांसपेशीमा चोट देखिएको र त्यसकै कारण दुखाइ भएको देखिएको थियो।  

उनलाई कतार जानका लागि व्यवस्थापकीय जिम्मेवारी भने अर्जुन कार्कीले सम्हालेका थिए। 

रेजिनको पुनरागमनलाई लिएर उत्साहित देखिएका अर्जुनले भने, ‘उसको कमब्याक सोचेभन्दा राम्रो भयो, एकै ठाउँको भएकाले रेजिनको उपचार गर्नु हाम्रै जिम्मेवारी हो।’

रेजिन नेपालको स्टार खेलाडी भएकाले पनि प्रोत्साहन गर्न आफूहरुले उनलाई सहयोग गरेको अर्जुनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .