ad ad

खेल


ब्याडमिन्टनमा इतिहास रचे प्रिन्स दाहालले, विश्वको शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचे प्रिन्स दाहालले, विश्वको शीर्ष स्थानमा

प्रिन्स दाहाल


नेपालखबर
पुस २९, २०७८ बिहिबार १०:४८, काठमाडौँ

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा शीर्ष स्थानमा उक्लेका छन्।

विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको वरीयताअनुसार १९ वर्षीय दाहाल पहिलोपटक शीर्ष स्थानमा पुगेका हुन्। उनको १० हजार ५ सय अङ्क छ। 

महासङ्घले जारी गरेको वरीयताअनुसार जुनियरतर्फ दोस्रो वरीयतामा मलेसियाका जस्टिन होह हुन्। 

उनको ९ हजार ५ सय ९० अङ्क छ। यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ ६ हजार ९ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन्। 

फ्रान्सका एलेक्स लानिर ६ हजार ७ सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम ६ हजार ३४० अङ्कसहित पाँचौँ स्थानमा छन्। 

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताएका छन्।

उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेलिरहेको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए।

अबको ध्यान वरीयता कायमै राख्नतर्फ रहने सुनाउँदै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने जानकारी दिए।

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुस्किल भएको दाहालको गुनासो छ। राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको सुझाव छ। 

कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट बञ्चित रहनुपरेको दाहालले बताए। पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौंमा पढिरहेका छन्। 

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो। व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ।

ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताए। दाहालको सफलताले नेपालको समग्र खेल जगतलाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ।

दाहाल हालसम्म कुनै पनि विभागिय क्लबमा आबद्ध छैनन्। उनी सुदूरपश्चिम प्रदेशबाट नै ब्याडमिन्टन खेलिरहेका छन्। वि.सं. २०७६ मङ्सिरमा जारी विश्व वरीयतामा दाहाल पहिलोपटक ३२औँ स्थानमा रहन सफल भएका थिए। 

त्यही वर्ष पुसमा जारी वरीयतामा उनी १४औँ स्थानमा तथा पुस अन्तिम साताको १०औँ स्थानमा उक्लिएका थिए। 

२०७६ चैतमा महासङ्घले जारी गरेको वरीयतामा दाहाल सातौँ स्थान तथा गत वर्ष माघमा उनी तेस्रो स्थानमा उक्लिन सफल भएका थिए। त्यतिबेला दाहालभन्दा अब्बल डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर थिए। मुलर शीर्ष स्थानमा तथा कपुर दोस्रो स्थानमा थिए। दुवै जनाले हाल सिनियर प्रतियोगिता खेलिरहेका छन्।

विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको वरीयता सार्वजनिक गर्ने गरेको छ।

दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत छन्।

यस्तै विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको महिला जुनियरतर्फको वरीयताअनुसार नेपालकी महिला खेलाडी रसिला महर्जन १९औँ स्थानमा पर्न सफल भएकी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .