कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको आठौँ चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज (बीबीसी) ले बराबरी गर्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको भएको खेलमा पुलिस र बीबीसीले एक एक गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। खेलको पहिलो हाफमा समान एक गरेका दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सकेनन्।
खेलको सुरुवातमा नै बीबीसीले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य भयो।
खेलको दोस्रो मिनेटमा नै बीबीसीका शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाए पनि त्यसैको रिबाउण्डमा आएको बललाई रोशन आले मगरले पोष्टको दिशा दिएका थिए।
त्यसको एक मिनेटमा नै बुद्ध तामाङले फ्रिकीकमा गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए।
दोस्रो हाफमा दुवै टोलीले केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। जारी लिगमा पुलिसको यो चौथो बराबरी हो। बराबरीसँगै पुुलिस ७ अंकमा ११औँ स्थानमा यथावत छ भने ब्रिगेड ब्वाइज १२औँ स्थानमा छ। पुलिसले ८ खेलमा १ मा जित, ४ खेलमा बराबरी र ३ खेलमा हार भोगेको छ।
पुलिससँग अंक बाँडेको ब्रिगेडले भने तेस्रो खेलमा बराबरीको नतिजा निकालेको हो। बीबीसीले एक खेलमा जित, ३ मा बराबरी र ४ खेलमा हार भोग्दै ६ अंक बनाएको छ।
Shares
प्रतिक्रिया