ad ad

खेल


रियलले जित्दा बार्सिलोना बराबरीमा रोकियो

रियलले जित्दा बार्सिलोना बराबरीमा रोकियो

नेपालखबर
पुस २५, २०७८ आइतबार १७:४, काठमाडौँ

स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडले फराकिलो जित निकाल्दा बार्सिलोना बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४–१ गोलले हरायो। अर्को खेलबा १० खेलाडीमा समेटिएको बार्सिलोनाले ग्रानाडासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

घरेलु मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे। भ्यालेन्सियाका गोन्कालो गुइडेसले सान्त्वना गोल फर्काए। बेन्जेमाले ४३औं मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए। डिबक्स भित्र विपक्षी डियाखावीले क्यासमिरोलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो।

त्यसपछि ५२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। ६१औं मिनेटमा भिनिसियसले मार्काे असेन्सियोको पासमा हेडगोल गर्दै रियलको अग्रता थप बलियो बनाए। जारी लिगमा भिनिसियसको यो १२औं गोल हो। उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छन््।

७६औं मिनेटमा गोन्कालो गुइडेसले रिवाउन्डमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे। गुइडेसको पेनाल्टी प्रहार गोलरक्षक थिवाउट कोर्टुवाले फर्काएपछि सोही बलमा उनले सोझै गोल गरेका थिए।

८८औं मिनेटमा बेन्जेमाले फर्लान्ड मेन्डीको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सानदार जित दिलाए। जारी लिगमा बेन्जेमाको यो १७औं गोल हो। सात असिस्ट समेत दिएका उनी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षस्थानमा छन्। रियलका भिनिसियस ‘म्यान अफ दि म्याच’ भए।

जितसँगै शीर्षस्थानमा रहेको रियलले २१ खेलबाट ४९ अंक बनाएको छ। रियल दोस्रो स्थानमा रहेको सेभियाभन्दा आठ अंकले अगाडि छ। पराजित भ्यालेन्सिया २८ अंक सहित नवौं स्थानमा छ।

यसैगरी अर्को खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन। प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि लुक डे जोङले ५७औं मिनेटमा गोल गरे। ७९औं मिनेटमा गाभी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो। जसको फाइदा ग्रानाडाले ८९औं मिनेटमा बराबरी गोल गर्दै उठायो।

ग्रानाडाका एन्टोनिओ पुयर्तासले बराबरी गोल गरेका थिए। बार्सिलोनाका डानी अल्भेस ‘म्यान अफ दि म्याच’ भए। बराबरीसँगै २० खेलबाट ३२ अंक बनाएको बार्सिलोना छैटौं स्थानमा छ। २४ अंक बनाएको ग्रानाडा १२औं स्थानमा छ।

अर्को खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १–० र लिभान्तेले मालोर्कालाई २–० गोलले हराएको छ। जितसँगै ३३ अंक बनाएको सोसिडाड चौथो स्थानमा छ। पराजित सेल्टा भिगो २३ अंक सहित १३औं स्थानमा छ। जितेपनि ११ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ। पराजित मालोर्का २० अंक सहित १५औं स्थानमा छ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ। हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो। ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .