चीनले देशको राष्ट्रिय टोलीबाट फुटबल खेल्ने खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध लगाएको छ। साथै यसअघि ट्याटु खोपेका खेलाडीलाई पनि हटाउन निर्देशन दिएको छ।
बिहीबार चीनको खेल विभागले नयाँ निर्देशिका जारी गर्दै राष्ट्रिय स्तर र युवा टोलीमा समावेश भएका खेलाडीलाई ट्याटु खोप्नमा प्रतिबन्ध लगाइएको बताएको हो।
विभागले ट्याटुमा लगाइएको प्रतिबन्धले समाजको लागि राम्रो उदाहरण पेश गर्न सहयोग पुर्याउने उल्लेख गरेको छ।
यसअघि नै चीनले राष्ट्रिय टोलीका डिफेन्डर झाङ लिनपेङलाई आफ्नो ट्याटु छोप्न निर्देशन दिएको थियो।
चीनले सन् २०१८ देखि नै खेलाडीलाई ट्याटु नखोप्न आग्रह गर्दै आएको थियो। त्यसयता केही खेलाडीले आफ्नो ट्याटु पनि हटाएका छन्।
चीनमा ट्याटुको विषयमा विभिन्न रुढीवादी चल्दै आएको छ। चीनमा पहिला आपराधिक क्रियाकलापमा संलग्नलाई चिन्न ट्याटु खोपिदिने चलन थियो।
अहिले पनि ट्याटुको सम्बन्ध पूर्वी एसियामा संगठित अपराधसँग जोडिने गरेको छ। आध्यात्मिक समूहका मानिसले ट्याटुलाई असभ्य मान्ने गरेका छन्।
Shares

प्रतिक्रिया