एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली राष्टिय पुरुष टोलीले पहिलो जित निकालेको छ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट १८–२५ ले गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो। खेलमा नेपालका धनबहादुर प्लेयर अफ दि म्याच घोषित भए।
नेपालले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१८ र चौथो सेटमा २५–२३ ले उज्वेकिस्तानलाई हरायो।
यसअघि बिहीबार च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–० को सोझो सेटमा हारेको थियो।
नेपालले अब तेस्रो खेलमा शनिबार श्रीलंकासँग खेल्नेछ। अन्तिम खेल नेपालले आइतबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्।
च्याम्पियनसिपमा पुरुषतर्फ आयोजक बंगलादेशसहित माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्र सहभागी छन्।
उता महिलातर्फ नेपालले लगातार दोस्रो जित दर्ता गर्यो। नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएको हो।
महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो।
Shares
प्रतिक्रिया