ad ad

खेल


ज्ञानेन्द्र मल्लले भने : क्यानले अनुशासनको कारबाही र खेलाडी वर्गीकरण सच्याओस्

ज्ञानेन्द्र मल्लले भने : क्यानले अनुशासनको कारबाही र खेलाडी वर्गीकरण सच्याओस्

पत्रकार सम्मेलनका क्रममा क्रिकेटर ज्ञानेन्द्र मल्ल। तस्बिर : विजय सिंह/नेपालखबर


नेपालखबर
पुस २, २०७८ शुक्रबार १७:३५, काठमाडौँ

नेपाल क्रिकेट संघ क्यानले आफूहरुमाथि गरेको अनुशासनको कारवाही र वर्गीकरणलाई सच्याउन क्रिकेटर ज्ञानेन्द्र मल्लले आग्रह गरेका छन्। 

काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले कारवाहीबारे क्यानले पुनर्विचार गर्नुपर्ने बताएका हुन्। 

'हामीले क्यानका कार्यवाहक सचिवदेखि अन्य पदाधिकारीसँग छलफल गरेका छौँ', उनले भने, 'क्रिकेटलाई अघि बढाउने हो भने छिटोभन्दा छिटो संवादमा बोलाएर छलफल गरोस् भन्ने हाम्रो चाहाना हो।' 

उनले आफूले कसैसँग गुट गर्दै नहिँडेको पनि बताएका छन्। 'म टोलीको नेता र कप्तान भएपछि हामीले गुट बनाउने होइन', उनले भने, 'अरुले के गरेका छन् त्यो मलाई जानकारी छैन।'

वर्गीकरणमा विचार गर्दै छलफलमा बोलाए संवादका लागि तयार रहेको पनि उनले बताए। 'कुनै खेलाडी नछुटोस् भनेर हामीले सल्लाह गरेका हौँ', उनले भने, 'वर्गीकरणमा पुर्नविचार गरेमा हामी संवाद गर्न तयार छौँ।' 

उनले वर्गीकरणबारे आफूलाई मौखिक जानकारी भए पनि लिखित रुपमा कसैले केही नभनेको बताए। 'हामीसँग सम्झौता गर्दा मौखिक रुपमा बुझाइएको थियो', उनले भने, 'लिखित रुपमा हामीलाई कुनै जानकारी छैन।' 

उनले आफूहरुले गलत गरेको भए माफी माग्न तयार रहेको पनि बताए। 'गलत गरेको भए माफी माग्ने हो। डिभिजन ५ देखि हामीले गर्व महसुस गरिरहेका छौँ', उनले भने, 'त्यहाँबाट हामी खेल्दै आएका छौँ। अहिलेको लागि वर्गीकरण सच्याएर सम्वाद गर्ने हो। यदि त्यसो भएमा हामी खेल्न तयार छौँ।'

उनले वर्गीकरण र अनुशासनको कारबाहीमा पुनर्विचार हुनै पर्ने अडान लिए। 'अनुशासनको कारवाहीमा पनि पुनर्विचार हुनुपर्छ', उनले थपे, 'वर्गीकरण र कारवाहीमा क्यानले विचार गर्नुपर्छ भन्ने मत छ।'

उनले क्यानमा देखिएको विवादबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चासो राखेकोमा सकारात्मक भने। 

'प्रधानमन्त्रीदेखि अन्यको फोनलाई सकारात्मक रुपमा लिनुपर्छ। क्रिकेटमा चासो दिनुहुने रहेछ भनेर बुझौँ', उनले थपे, 'खेलाडीको हकहितका लागि बोल्नु अनुशासन उल्लघंन होइन जस्तो हामीलाई लाग्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .