ad ad

खेल


विनोद दास भन्छन्- कप्तानलाई नै सोध्नुस्, कति दिन अभ्यासमा जानुभयो?

क्यानले कसैलाई खेल्नबाट वञ्चित गरेको छैन, अनफिल्ड इस्यु नआउनु पर्ने हो
विनोद दास भन्छन्- कप्तानलाई नै सोध्नुस्, कति दिन अभ्यासमा जानुभयो?

विनाेद दास
पुस १, २०७८ बिहिबार १३:३४, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)काे बोर्ड बैठकले बुधबार गरेको निर्णयले कोही पनि खेलाडीलाई खेल्नबाट वञ्चित गरिएको छैन। क्यानको आफ्नो प्रक्रिया छ। बोर्ड मिटिङले एउटा निर्णय लिएको छ। म कर्मचारीका हिसाबले क्यानले लिएको निर्णय पालनाका गर्छु। 

केही इस्यु थिए। त्यसलाई हल गर्न सकेसम्म उपयुक्त विकल्प के हुन्छ? त्यही लिइएको हो। यो निर्णयले कुनै खेलाडीलाई वञ्चित गरेको म देख्दिन। त्यसैले अनफिल्ड इस्यु आउनुपर्ने हो जस्तो मलाई लाग्दैन। खेलाडीहरूले पनि अडान लिएका थिए। क्यानले पनि अब खेल आउँदैछ, खेलाडीहरूले जे भनेपछि सहनैपर्छ गर्नैपर्छ भन्ने छैन। खेलाडीहरुलाई खेलबाट नरोक्ने जुन निर्णय लिइएको छ, मेरो ध्यान त्यतिमा मात्रै केन्द्रित थियो। क्रिकेट समस्यामा पर्नुहुँदैन। समस्या छ भन्दैमा क्रिकेटलाई प्राथमिकता बाहिर राख्न मिल्दैन। मेरो लागि क्रिकेट, खेलाडीहरूले खेल्न पाउनुपर्छ भन्ने प्राथमिकता थियो, त्यो मेरोतर्फबाट बोर्डमा राखेँ। त्यो कुरा क्यानले मान्दा म खुशी पनि छु। 

अब यसलाई अझै अगाडि बढाउनुको कुनै तुक छ भन्ने मलाई लाग्दैन। खेलाडीहरुलाई अझैपनि क्यानको निर्णय चित्त बुझेको छैन भने क्यानमा आएर उनीहरु प्रष्टाइदिन भन्न सक्छन्। टेबुलमा बसेर कुरा गर्न सकिन्छ। तर मिडिया, सामाजिक सञ्जालबाट होइन। 

मनमा तुषचाँहि राख्नुहुन्न भन्ने जस्तो लाग्छ। क्यानसँग कुरा राख्न मन छ वा म क्रिकेट व्यवस्थापक भएको हिसाबले मसँग कुरा राख्न पनि सकिन्छ। बन्द प्रशिक्षण घोषणा भएको छ। सबैलाई बोलाइन्छ पनि। त्यो बेला सबैजना एकै ठाउँमा बसेर राम्रो टिम बनेर खेल्नेमा म विश्वस्त छु। 

टिममा गुट बनाउनुभएन। टोली भनेको एउटा समग्र ग्रुप हो। अझै त्यहाँभित्र पनि गुट बनाउनुभएन। त्यो राम्रो होइन। त्यो हटाउनै पर्छ। त्यो हटाउनै हामीले पुबुदु(दासानायके)लाई लिएर आएको हो। किनकी उहाँले सबैलाई चिन्नुहुन्छ, बुझ्नुहुन्छ। 

क्यानले खेल्न प्रतिबन्ध लगाएको भए अर्कै कुरो हुन्थ्यो। म त्यसको पक्षमा थिइनँ र अहिले पनि छैन। अति नगरेसम्म खेलाडीहरूको खेल्न पाउने अधिकारमाथि वञ्चित गर्नुहुन्न। केन्द्रीय सम्झौताकै विषयमा पनि अति भएको छ। सम्झौतालाई लिएर खेलाडीहरु कहिल्यै पनि खुशी हुँदैनन्। कोहीपनि खेलाडी चाहँदैनन् कि म तल्लो ग्रेडिङमा परुँ। सबैलाई माथिकै सम्झौता चाहिन्छ। सम्झौताकै पनि आफ्नै परिधि हुन्छ। 

११ बुँदे खेलाडीहरूले उठाउँदा मौखिक रुपमा उहाँहरुलाई सबैकुरा भनिसकेका छौं। एक एक प्वाइन्ट उहाँहरुसँग छलफल गरेर बुझाइसकेको छ। 

सम्झौता र सम्झौताको मस्यौदा दुई पार्टीबीच हुने एग्रिमेन्ट हो। यसलाई हामी पब्लिक गर्न सक्दैनौं। आजसम्म बीसीसीआई र विराट कोहलीबीचको सम्झौता देख्नुभएको छ? देख्नुभएको छैन नि। बीसीआईको सम्झौताको मापदण्ड पनि देख्नुहुन्न। 

श्रीलंका क्रिकेट बोर्डले एन्जलो म्याथ्युजलगायत ६ जना खेलाडीलाई सम्झौताको मापदण्डमा लिखित रुपमा कुरा उठाएको भन्दै ६ महिना प्रतिबन्ध लगाइदिएको थियो।  

यो सबै कुराहरु खेलाडीहरुलाई असमझदारी होला। तर, अन्ततः बोर्डले नै त्यसको उत्तर दिने हो। उत्तर माग्ने पनि त तरिका हुन्छ नी।

म आफैंपनि एकदमै डिस्टर्ब छु। खेलाडीहरु यो ठाउँमा आइपुगोस् भन्ने मेरो पनि चाहना होइन। बारम्बार मलाई यसमा तानिँदैछ। मैले नै बीचमा खेल्ने काम गरिरहेको छु जसरी। 

सोमपाल(कामी) जीले ह्वाट्सएपमा मसँग किन यस्तो भएको(बी श्रेणीमा किन राखियो?) भनेर म्यासेज पठाउनुभयो। ‘मैले होइन, क्यानले गठन गरेको कमिटीले गर्ने निर्णय हो,’ भनेर मैले रिप्लाई पनि गरे। त्यसबेला म आईसीयूमा उपचाररत बुबाको उपचारका लागि अस्पतालमा थिए। त्यसदिन मैले साँझ मलाई यस विषयमा छलफल गर्न फोन गर्नुस् भनेको छु।  

उल्टै मलाई ‘केही पनि थाहा छैन भनेर भन्यो’ भन्ने मिडियामा आरोप लगाइएको छ। यो कसैलाई व्यक्तिगत टार्गेट गरेको हो कि होइन? अनुशासनहीन काम हो कि होइन? 
उहाँहरुलाई कसले उचालि रा’ हो कसको मातहतमा चलिरहनुभएको छ? यो धेरै लामो जानुहुँदैन।

खेल्नु आफ्नो प्राथमिक कार्य हो। कति दिन अभ्यास गर्न जानुभएको छ उहाँहरु, सोध्नुस् त एकचोटी। कप्तानसापलाई नै सोध्नुस् न कति दिन त्रिविमा अभ्यासमा जानुभयो?

११ बुँदेमा उहाँहरुले त्रिवि मैदानमा खेलाडीलाई छिर्न दिएन लेख्नुभएको छ। उहाँहरुले नै अभ्यास गर्दा धेरैजना भएर डिस्टर्ब भयो भनेपछि त्यो निर्णय गरिएको हो। छिर्न नपाइने, रोक लगाइएको भनेर केही भनेको छैन। सम्झौता बाहेकका खेलाडीलाई अनुमति लिएर मात्रै जानुस् भन्या हो क्यानले। उहाँहरुलाई डिस्टर्ब हुन्छ भनेर यू–१९ का खेलाडीलाई नजाऔँ भनेको हो। तर उहाँहरुले चिनेको यू–१९ को बच्चालाई जान दिनुपर्यो रे। त्यस्तो पनि हुन्छ? यो त कहाँ गइरहेको हो, कहाँ गइरहेको हो, मलाई पनि थाहा छैन। यो ठिक चाँहि भइरहेको छैन।

(नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक विनोद दाससँग नेपालखबरकर्मी यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .