अष्ट्रेलियाले पनि सन् २०२२ मा चीनमा हुने विन्टर ओलम्पिक कूटनीतिकरूपमा बहिष्कार गर्ने भएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले चीनको मानव अधिकार तथा अष्ट्रेलियाले उठाउँदै आएको अन्य मुद्दामा दबाब बढाउन कूटनीतिकरूपमा विन्टर ओलम्पिक बहिष्कार गरिने बताएका हुन्।
यद्यपि यो ओलम्पिकको लागि खेलाडी भने पठाउने मौरिसनले बताएका छन्। यसअघि अमेरिकाले पनि चीनमा हुने ओलम्पिक कूटनीतिकरूपमा बहिष्कार गर्ने बताएको थियो। चीनले अमेरिकाको घोषणाप्रति असन्तुष्टि जनाउँदै यसले जवाफ दिइने बताएको थियो।
पछिल्लो समय चीन र अष्ट्रेलियाको सम्बन्ध चिसिँदै गएको अवस्थामा अष्ट्रेलियाले विन्टर ओलम्पिकमा आफ्ना कूटनीतिक अधिकारी नपठाउने निर्णय गर्नुलाई सामान्यरुपमा लिइएको छ।
यसअघि न्युजिल्याण्डले कोरोना भाइरसको ओमिक्रोन भरियन्टबारे आशंका व्यक्त गर्दै २०२२ विन्टर ओलम्पिकमा कूटनीतिक अधिकारी नपठाउने निर्णय गरेको थियो।
Shares

प्रतिक्रिया