कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले पहिलो जित दर्ता गरेको दिन ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले भने पहिलो हार व्यहोरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको तेस्रो चरणको खेलमा बीबीसीलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले अपराजित लयलाई कायम राखेको छ। आर्मीसँगको हारले बीबीसीको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
आर्मीको जितमा फरवार्ड भरत खवासले खेलको ८५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
आर्मीले पहिलो चरणमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी गरेको थियो। दोस्रो चरणमा भने साविक विजेता मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।
उता बीबीसीले भने पहिलो चरणमा एपीएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो। दोस्रो चरणमा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो।
जितसँगै आर्मी ५ अंकमा अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। पराजित बीबीसी ४ अंकमा आठौँ स्थानमा छ।
Shares

प्रतिक्रिया