अखिल नेपाल फुटबल संघ (एन्फा) र फिफा रेफ्रीहरुबीचको विवाद तत्कालका लागि समाधान भएको छ। यसअघि एन्फाले फिटनेस टेस्ट लिन बाध्य पारेको भन्दै रेफ्रीहरुले आपत्ति जनाएका थिए।
एन्फाको नयाँ नियममा आपत्ति जनाउँदै ९ जना फिफा रेफ्रीले बिहीबार राजीनामा बुझाएका थिए। यद्यपि बिहीबार साँझ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र रेफ्रीहरुबीच वार्ता भएको थियो। वार्तापछि यो विवाद तत्कालको लागि समाधान भएको एक रेफ्रीले बताए।
बिहीबार साँझ भएको सहमति अनुसार शुक्रबारको ए डिभिजन लिगका खेलहरु पूर्व निर्धारित रेफ्रीहरुले नै खेलाउनेछन्। यसअघि सेप्टेम्बर २३ फिटनेस टेस्ट दिएका रेफ्रीहरुलाई एन्फाले डिसेम्बर २३ मा अर्को टेस्ट दिन निर्देशन दिएको थियो।
रेफ्रीहरुले भने अहिले लिगको खेलहरु चलिरहेको समयमा टेस्छ दिन नसकिने र टेस्ट दिनैपर्ने भए लिग रोकेर तयारीको लागि केही समय दिनुपर्ने बताएका थिए। यस विषयमा सहमति नजुटेसँगै रेफ्रीहरुले राजीनामा दिएका थिए।
Shares

प्रतिक्रिया