मलेसियालाई पराजित गर्दै नेपाल आईसीसी वुमन्स टि–२० विश्वकपको एशियाली छनोटको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो। जितसँगै नेपालको टि२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ।
मलेसियाले दिएको ९३ रनको लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
नेपालकी सीता रानामगरले सर्वाधिक ३० रनमा रन जोडिन्। कप्तान रुविना क्षेत्री २० रन बनाउँदा रन आउट भइन्। दोस्रो विकेटका लागि सीता र रुविनाले ४८ रनको साझेदारी गरे। सरिता मगर १८ बलमा १५ रनमा अविजित रहिन्।
त्यसअघि आइसिसी एकेडेमी दुबईमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो।
मलेसियाकी एल्सा हन्टरले सर्वाधिक ३९ रन बनाईन्। युस्रिाना याकोप १२ रनमा बोल्ड आउट भइन्।
नेपालकी सबनम राईले आफ्नो स्पेलमा १ मेडन सहित २७ रन खर्चेर २ विकेट लिइन्। कविता कुँवर,सीता रानामगर र रुविना क्षेत्रीले समान १ विकेट लिए।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेट र तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो। छनोट चरणको अन्तिम खेलमा नेपालले आइतबार युएईसँग खेल्नेछ।
Shares

प्रतिक्रिया