राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।
नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको उनका बुवा लामा पासाङ शेर्पाले जानकारी दिए।
पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगले शेर्पा पीडित थिए। रोगले थला पर्नुअघि उनले अमेरिका, भारत र चीनमा गएर उपचार गराएका थिए।
शेर्पा पछिल्लो झण्डै दुई वर्षदेखि सोही केयर होम रहेर उपचार गराइरहेका थिए। लामो समयदेखि थलिएका शेर्पालाई पछिल्लो दुई दिनबाट भने निकै कठीन भएको बुवा शेर्पाले बताए।
आजै बौद्धस्थित शेर्पा गुम्बामा लगेर उनको अन्तिम संस्कारको प्रक्रिया सुरु हुने पारिवारिक स्रोतले जनाएको छ।
अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए। टेण्डीका बुवा, आमा, दुई दाई र बहिनी छन्।
Shares

प्रतिक्रिया