तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि उद्धार गरिएका महिला फुटबल टोलीका खेलाडीहरु बेलायत पुगेका छन्। बीबीसीका अनुसार १३ देखि १९ वर्ष उमेर समूहका उनीहरु बिहीबार पाकिस्तानबाट बेलायत पुगेका हुन्।
विभिन्न संघसंस्था र मानिसहरुको सहयोगमा उनीहरुको उद्धार गरिएको हो। अफगानिस्तानको राष्ट्रिय महिला टोलीकी पूर्व प्रशिक्षक खलिदा पोपलले उनीहरु बेलायत पुगेकोमा खुसी व्यक्त गरिन्। अब उनीहरुले पूर्ण स्वतन्त्रतासहित आफ्नो नयाँ जीवन सुरु गर्न सक्ने उनको भनाइ छ।
तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि यी फुटबल खेलाडीका परिवारलाई ज्यान मार्ने धम्की आएको थियो। यसअघि गत अगष्टको अन्तिममा पाकिस्तानले उनीहरुलाइ अस्थायी भिसा दिने निर्णय गरेको थियो।
त्यसपछि बेलायतको सरकारले उनीहरुको भिसा स्वीकृत गर्ने निर्णय गरेको हो। उनीहरुले अब नयाँ जीवन पाएको र पहिलो लक्ष्य हासिल गरेको पूर्व प्रशिक्षक पोपल बताउँछिन्।
अब उनीहरुको फुटबल करियरबारे पनि सोच्नुपर्ने बेला आएको उनको भनाइ छ। यसअघि नै सिनियर महिला टोलीका खेलाडीलाई अष्ट्रेलियाले उद्धार गरेको थियो। अफगानिस्तानमा अझै पनि धेरै महिला खेलाडी सन्त्रासमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
Shares

प्रतिक्रिया