रियल सोसिडाडले स्पेनिस ला लिगामा जितको लय जारी राखेको छ। आइतबार राति भएको खेलमा सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो। सोसिडाडको जितमा माइकल मेरिनो र एडनान जानुजाजले गोल गरे।
दुवै गोल दोस्रो हाफमा गरेको सोसिडाडले ७२औं मिनेटमा खाता खोलेको थियो। मेरिनोले पोर्टुको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए। १० मिनेटपछि जानुजाजले पेनाल्टीमा गोल गर्दै सोसिडाको अग्रता दोब्बर बनाए। डिबक्स भित्र ओसासुनाका उनइ गार्सियाले फल खेलेपछि सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो।
५७ प्रतिशत बल पोसेसन राखेको सोसिडाडले खेलभर नौवटा पोस्ट प्रहार गरेको थियो। यता ६ वटा पोस्ट प्रहार गरेको ओसासुना गोलरहित हार खेप्न बाध्य बन्यो। सोसिडाडका डेभिड सिल्भा ‘म्यान अफ दी म्याच’ बने। जितसँगै सोसिडाड फरि शीर्ष स्थानमा उक्लिएको छ।
१३ खेलमा आठ जित, चार बराबरी र एक हार खेपेको सोसिडाडको २८ अंक छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २७ अंक छ। रियलले एक खेल कम खेलेको छ। तेस्रो स्थानमा रहेको सेभियाको पनि २७ अंक छ। सोसिडाडसँग पराजित ओसासुना १९ अंक सहित सातौं स्थानमा छ।
आइतबार रातिनै भएको खेलमा सेभियाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई उसैको मैदानमा २–० गोलले हराउँदै तेस्रो स्थान कब्जा गरेको हो। सेभियाको जितमा मार्कोस अकुनाले ५५औं मिनेटमा गोल गरे। सेभियाले अर्को गोल ८१औं मिनेटमा रियल बेटिसबाट आत्मघाती उपहार पाएको थियो।
बल बचाउने क्रममा हेक्टोर बेलेरिनको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो। ४५औं मिनेटमा गुईडो रोड्रीग्वेज दोहोरो पहेँलो (रातो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएका बेटिस दबाबमा परेको थियो। सेभियासँगको हारसँगै २१ अंक बनाएको बेटिस पाँचौं स्थानमा छ।
अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड भ्यालेन्सियासँग ३–३ गोलको बराबरीमा रोकिएको छ। भिल्लारियलले गेटाफेलाई १–० गोलले पराजित गरेको छ। मालोर्का र इल्चेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ। ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो।
ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ। त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।
Shares

प्रतिक्रिया