इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतवार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि फराकिलो जित दर्ता गराएको छ।
लिभरपुलले दोस्रो हाफको ३० मिनेट १० खेलाडीमा सीमित युनाइटेडमाथि ५-० गोल अन्तरको फराकिलो जित निकालेको हो।
युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे। त्यस्तै नेबी केइटा र डिएगो जोटाले पनि एक एक गोल गरे।
लिभरपुलले खेलको पाँचौं मिनेटमा अग्रता बनायो। केइटाले सुरुवाती गोल गर्दै लिभरपुललाई अग्रता दिलाउन सफल भएका थिए।
त्यसपछि खेलको १३ औँ मिनेटमा डियगो जोटाले गोल गरेपछि लिभरपुलले अग्रता २-० ले अघि बढाउन सफल भयो।
खेलमा निरन्तर दबाब बनाएको लिभरपुलका लागि खेलको ३८ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै अग्रता ३-० मा पुर्याए।
लिभरपुल त्यतिमै रोकिएन। पहिलो हाफको इन्जुरी समयमा सलाहले नै अर्को गोल थपेपछि लिभरपुल ४-० ले अघि बढ्यो।
लिभरपुलले खेलको दोस्रो हाफमा पनि अर्को गोल थप्यो। खेलको ५० औँ मिनेटमा सलाहले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे।
सलाहको ह्याट्रिकसँगै ५-० ले अघि बढेको लिभरपुलले अन्तिमसम्म त्यही नतिजा कायम राख्दै फराकिलो जित दर्ता गर्यो।
म्यानचेस्टर युनाइटेडका लागि खेलको ५८ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। भीएआरले रोनाल्डोको गोललाई अफसाइड देखाइदियो।
यस्तै खेलको ४६ औँ मिनेटमा मैदान छिरेका पल पोग्बा ६० औँ मिनेटमा रातो कार्ड पाएर बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो।
लिभरपुलका केइटामाथि गम्भीर फउल गरेपछि पोग्बाले रातो कार्ड पाएका थिए।
यो जितपछि ९ खेलबाट २१ अंकसहित लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा पुगेको छ। पराजित युनाइटेड पनि ९ खेलबाट १४ अंक जोडेर सातौँ स्थानमा छ।

Shares

प्रतिक्रिया