स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई सजिलै पराजित गरेको छ।
बार्सिलोनाकै पूर्व स्ट्राइकर लुइ स्वारेज चम्किँदा एट्लेटिकोले २-० गोलअन्तरको सहज जित निकालेको हो।
एट्लेटिकोलाई जित दिलाउने क्रममा थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे । स्वारेजले थोमस लेमरको गोलका लागि पास समेत उपलब्ध गराएका थिए।
घरेलु मैदानमा खेलको २३ औं मिनेटमा लेमारले स्वारेजको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए।
त्यसपछि खेलको ४४ औं मिनेटमा सुआरेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाउन सफल भए।
स्वारेज तिनै हुन्, जसलाई बार्सिलोनाको प्रशिक्षक हुने क्रममा रोनाल्ड कोम्यानले खेल्न नसक्ने भन्दै क्लबबाट जबर्जस्ती बाहिरिन बाध्य पारेका थिए। बार्साबाट एट्लेटिको गएको पहिलो सिजनमै स्वारेजले ला लिगाको उपाधि चुमेका थिए। यो सिजन पनि एट्लेटिको उपाधि होडमा छ।
यो जितपछि एट्लेटिकोले ८ खेलमा १७ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोना १२ अंक जोडेर दशौँ स्थानमा छ। लियोनेल मेस्सी र एन्टोइन ग्रिजम्यानसहितले छाडेपछि बार्सिलोना इतिहासमै खराब लयबाट गुज्रिरहेको छ।
Shares

प्रतिक्रिया