ad ad

खेल


क्रिकेटमा कप्तानी दबाब

क्रिकेटमा कप्तानी दबाब

ईपीएल टाेलीका कप्तानहरु।


लक्ष्मी जि.सी
असोज १२, २०७८ मंगलबार १४:४३, काठमाडौँ

हरेक खेलाडीमाथि राम्रो प्रदर्शन गर्ने दबाब हुन्छ नै। तर, कप्तानलाई भने व्यक्तिगत प्रदर्शन राम्रो गर्नेसँगै अन्य दबाब पनि हुन्छ। 

क्रिकेटमा त कप्तानको भूमिका बढी नै महत्वपूर्ण हुन्छ। टोलीको नियमित सदस्य हुने खेलाडी नै कप्तान हुने सम्भावना बढी रहन्छ। 

त्यसका लागि आफूले पनि उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ। त्यसबाहेक कप्तानमा सञ्चार कौशल उत्तिकै हुन जरुरी छ। 

आफ्ना टोलीका लागि आवश्यक खेलाडीको छनोटको क्षमता पनि कप्तानमा हुन आवश्यक छ। 

खेलाडीको ब्याडिङ क्रम होस्, बलिङको जिम्मेवारीदेखि फिल्डिङ सेट सबैमा कप्तानले नै निर्णय लिनुपर्दछ। 

हुन त समूहगत खेलमा हरेक खेलाडीको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ नै। टोलीको आफ्नै योजना पनि हुन्छ। 

तर त्यो योजनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको केन्द्रमा भने कप्तान हुन्छन्। कप्तान जोखिम उठाउनदेखि रणनीतिक पनि उत्तिकै हुन जरुरी छ। 

दबाबका बीचमा पनि निर्णय लिनुपर्ने दायित्व कप्तानकै हुन्छ। कुनै समय निर्णय सही हुन्छ भने कुनै बेला गलत पनि। त्यस अर्थमा बढी जवाफदेही पनि कप्तान नै देखिन्छन्।

काठमाडौंमा अहिले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथौं संस्करण कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी छ। 

६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको ईपीएलमा यसपटक युवा टोलीले कप्तानी सम्हालिरहेका छन्।

स्थापित र दर्शकबाट रुचाइएका केही अनुभवी खेलाडीको यसपटक सहभागिता नभएका कारण पनि अन्य खेलाडीले कप्तानीको भूमिका निर्वाह गरिराख्नुपरेको छ। 

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी यसपटक ईपीएलमा खेलिरहेका छैनन्। 

पारस र ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै खेलेनन् भने दिपेन्द्र चोटग्रस्त छन्। राष्ट्रिय टोलीकै अनुवभी खेलाडी शरद भेषावकरले भने भैरहवा ग्लाडियटर्सको कप्तानीलाई निरन्तरता दिएका छन्।

बाँकी ५ टोलीमा युवा खेलाडीले कप्तानी गरिरहेका छन्। काठमाडौं किंग्स एलाभेनलाई स्पिनर सन्दीप लामिछाने, ललितपुर प्याट्रियट्सलाई कुशल भुर्तेल, पोखरा राइनोजलाई विनोद भण्डारी, चितवन टाइगर्सलाई सोमपाल कामी र विराटनगर वारियर्सलाई करण केसीले कप्तानी गरिरहेका छन्। संयोग नै मान्नुपर्छ ६ टोलीकै कप्तान राष्ट्रिय टोलीका सदस्य हुन्।

ईपीएलको अघिल्लो संस्करणमा ज्ञानेन्द्रले ललितपुर र पारसले विराटनगरको कप्तानी गरेका थिए। 

ज्ञानेन्द्रले नखेल्ने भएपछि ललितपुरलाई कुशलले नेतृत्व गरिरहेका छन्। कुशलले भने कप्तानीलाई अवसरका रुपमा लिएका छन्। कप्तानी दबाब पनि केही हदसम्म उनमा देखिएको अनुभव गर्न सकिन्छ।

‘यो एउटा अवसर त हो, ज्ञानेन्द्र दाइ नहुँदा मलाई कप्तानी जिम्मेवारी दिइएको छ, अवसरसँगै जिम्मेवारी पनि बढेको छ। पहिलो खेल सोचेजस्तो नभए पनि अर्को खेलमा राम्रो गर्नेछौँ’, कुशलले भने, ‘ईपीएल खेलको पनि ठूलो ठाउँ हो, सबैले हेरिरहनुभएको हुन्छ कसले कस्तो गरेको छ भनेर त्यसमा पहिलोपटक कप्तानी गरिरहेको छु, त्यसैले केही प्रेसर त हुन्छ नै!’

आफूले ब्याटिङ गर्ने क्रममा भने दबाब महसुस नगर्ने कुशल बताउँछन्। 

‘ब्याटिङ गर्दा दबाब लिन्न’, उनले भने, ‘फिल्डिङ र बलिङमा केही मिलाउनुपर्ने हुन्छ। पहिलो खेलमा धेरै कुरा सिकँे कसरी के गर्नुपर्ने रहेछ भनेर, अर्को खेलमा अझ राम्रो गर्ने कोशिस गर्छु।’

टोलीको खेलाडी मात्र हुनु र कप्तानको जिम्मेवारी निर्वाह गर्दा भने फरक हुने कुशलको अनुभव छ। 

‘खेलाडी मात्रै भएर खेल्दा आफ्नो खेलको बारेमा मात्र सोचे पुग्थ्यो तर कप्तान हुँदा हरेक खेलाडीको बारेमा पनि सोच्नुपर्ने हुन्छ। म्यानेजमेन्ट, अर्को खेल, टिम, टोलीको छनोटबारेमा सोच्नुपर्ने’, उनले थपे, ‘टोलीका अन्य खेलाडीबाट पनि सुझाव लिन्छु। उनीहरुले पनि सल्लाह दिन्छन्। ज्ञानेन्द्र दाइसँग पनि सल्लाह लिन्छु।’

काठमाडौं किंग्स एलाभेनसँग ७ विकेटले पराजित भएपछि कुशलले भनेका थिए– ज्ञानेन्द्र दाइसँग कुरा गरिरहेको छु, त्यस्तो प्रेसर त महसुस गरेको छैन। टिम मेट्सले पनि सहयोग गरिरहेका छन्।

दुई वर्षअघि राष्ट्रिय टोलीको कप्तानी त्यागेका पारसले केही साताअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। घरेलु क्रिकेट खेल्ने विषयमा भने उनले प्रष्ट पारेका थिएनन्। तर, उनले ईपीएल भने नखेल्ने निर्णय गरे। उनको अनुपस्थितिमा विराटनगरले करणलाई टोलीको नेतृत्व सुम्पेको थियो।

चितवन टाइगर्सविरुद्धको पहिलो खेल २ विकेटले गुमाएपछि करणले भनेका थिए– कप्तानको रुपमा दबाब महशुस त हुने नै रहेछ। मैले फ्रेन्चाइज टोलीमा दोस्रो पटक कप्तानी गरेको हुँ। यसअघि डीपीएलमा कप्तानी गरेको थिएँ। तर कप्तानी महसुस गर्ने हो। गाह्रो नै हुने रहेछ। आफू पनि खेल्नुपर्ने, सिक्दै छु कसरी अगाडि जाने भनेर। यो पटक टोलीमा पारस नहुँदा टोलीलाई ठूलो असर गरेको छ।

राष्ट्रिय टोलीका पूर्वखेलाडी राजु बस्न्यात फुटबल वा अन्य समूहगत खेलभन्दा क्रिकेट टोलीको कप्तानी गर्नु फरक भएको बताउँछन्। 

‘ब्याटिङ गर्दा बाहिर अरु कुरामा पनि ध्यान दिन सकिन्छ’, घरेलु क्रिकेटमा कप्तानीको जिम्मेवारी निर्वाह गरेका राजुले भने।

क्रिकेटमा सिनियर खेलाडीले पनि कप्तानलाई सहयोग गरिरहेको देख्न सकिने उल्लेख गर्दै राजुले भने, ‘त्यसले युवा खेलाडीले सिकिरहेका छन्। एकअर्कालाई सहयोग गरेर खेल्दा विस्तारै राष्ट्रिय टोलीको नेतृत्व गर्न पनि तयार हुन्छन्।’

टोलीमा रहेका खेलाडीको क्षमताअनुसारको प्रयोग गर्ने क्षमता कप्तानमा हुनुपर्दछ। टोलीको खेल पूर्वयोजना त हुन्छ नै। तर खेल अघि बढ्दै जाँदा योजना भन्दा फरक परिस्थिति सृजना हुनसक्छ। 

त्यसलाई कप्तानले नै खेलाडीलाई आफ्नो टोलीका पक्षमा पार्नका लागि रणनीतिमा परिवर्तन पनि गर्नुपर्ने हुनसक्छन्। कप्तानले खासमा टोलीको मनोबल उच्च बनाइराख्न पनि उत्तिकै मिहिनेत गरिरहेका हुन्छन्।

पोखरा राइनोजका कप्तान विनोद भने खेलाडी वा कप्तान हुँदा खासै फरक अनुभव गर्दैनन्। 

‘मलाई खेलाडी र कप्तान हुँदा खासै फरक हुन्छ जस्तो लाग्दैन, खेलाडी मात्र हुँदा पनि धेरै कुरा एक्लै भोग्नुपर्छ, चाहे त्यो ब्याटिङ होस् वा बलिङ एक्लैले गर्ने हो’, उनले भने, ‘खेलाडी हुँदा व्यक्तिगत प्रदर्शन देखाउने हो भने कप्तान सबै खेलाडीको आवाज बन्नुपर्दछ।’

राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर समेत रहेका भण्डारीको व्यक्तिगत अनुभवले पनि उनी केही फराकिलो भएर सोचेको मान्न सकिन्छ। 

‘म आफु विकेट किपर भएर पनि होला, खेलमा किपरको रोल धेरै हुन्छ’, उनले थपे, ‘फिल्डिङमा सबै एङ्गल मिलाउनेदेखि बलरलाई ब्याट्सम्यानले के गर्दै छन् भन्ने सूचना दिने, पिचको अवस्थाका बारेमा बताउनुपर्छ। त्यसैले कप्तानी दबाब खासै महशुस गरेको छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .