खेल


आशिफ र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारीमा ओमान ७ विकेटले पराजित

आशिफ र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारीमा ओमान ७ विकेटले पराजित

नेपालखबर
असोज ३, २०७८ आइतबार २१:१९, काठमाडौँ

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आशिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ। 

योसँगै ओमान भ्रमणमा रहेको नेपालले अमेरिका सम्मिलित आइसीसी लिग २ त्रिकोणात्मक सिरिजको सुखद अन्त्य गरेको छ। 

एकदिवसीय क्रिकेटमा नेपालले ओमानमाथि पहिलो पटक जित निकालेको हो। 

सिरिज अन्तर्गतको ४ मध्ये नेपालले दुई खेलमा हार भोगेको नेपालले २ खेलमा जित निकाल्न सफल भयो। नेपाल ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो। अमेरिकालाई पहिलो खेलमा ५ विकेटले हराएको नेपालले दोस्रो खेल ६ विकेटले गुमाएको थियो। 

ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ दशमलव २ बलमा ३ विकेटको क्षतिमा भेट्यो। 

दोस्रो विकेटका लागि नेपाली टोलीका कप्तान मल्ल र ओपनर शेखले ९५ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले ओमानमाथि सहज जित निकालेको हो। 

नेपालको तर्फबाट कुनैपनि विकेटका लागि भएको यो सर्वाधिक ठूलो साझेदारी हो। यसअघि पपुवा न्युगिनीसँगको खेलमा ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए। 

कप्तान ज्ञानेन्द्र मल्ल ५२ र शरद भेषावकर १ रनमा नटआउट रहे। अर्का अ‍ोपनर आशिफ शेखले ४० रनको महत्वपूर्ण योगदान दिए। ओपनर कुशल भुर्तेलले ६ तथा रोहित पौडेलले ६ रन थपे। 
त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले ओमानलाई ३७ दशमलव १ ओभरमा १ सय २१ रनमा नै अलआउट गरेको थियो।  
नेपालका करण केसी केसी र सन्दीप लामिछानेले घातक बलिङ गरेपछि ओमान कम स्कोरमा रोकिएको थियो। 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ४ विकेट लिए। शरद भेषावकरले २ विकेट आफ्नो नाममा गरे। ओडीआई क्रिकेटमा शरदले पहिलो विकेट लिएका हुन्। 

८ ओभर बलिङ गरेका करणले १ मेडन राख्दै २५ रन खर्चे। ८ दशमलव १ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै १८ रन खर्चे। शरद भेषावकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए। 

ओमानका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर छुन सके। कप्तान जेसन मक्सुदले जोडेको ४१ रन नै ओमानका लागि सर्वाधिक रह्यो। ओपनर जतिन्दर सिंह १३, नसिम खुसीले १२ र कलिमुल्लाहले ११ रन थपे। 

ज्ञानेन्द्रको किर्तिमानी अर्धशतक 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरे। 

कप्तान मल्ल नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन्। उनले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक पुरा गरेका हुन्। 
ज्ञानेन्द्रपछि ओडिआईमा रोहित कुमार पौडेलले तीन अर्धशतक प्रहार गरेका छन्।  

विश्वकप लिग २ अंक तालिका
सिरिजका १३ खेल मध्ये १० मा जित र ३ मा हार भोगेको ओमान २० अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। १५ खेल खेलेको अमेरिका ७ मा जित र ८ मा हार भोग्दै १४ अंकमा दोस्रो स्थानमा छ। ८ खेलमा ४ मा जित र ३ मा हार व्यहोरेको  स्कटल्यान्ड ९ अंकमा तेस्रो स्थानमा छ। 

८ खेल खेलेको नेपाल ४ मा जित र ४ मा हार भोग्दै ८ अंकमा चौथो स्थानमा छ। 

७ खेलमा ४ मा जित र ३ मा हार भोगेको नामिबिया ८ अंकमा पाँचौँ, ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोडेको युएई छैटौं र खेलेका ८ मध्ये सबै खेलमा पराजित  पपुवा न्युगिनी अंक विहिन रुपमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad