ओमान भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइतबार आईसीसी लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत अन्तिम खेल खेल्दै छ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले आज घरेलु टोलीसँग स्पर्धा गर्दै छ।
खेल साँझ सवा ४ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने ओमानको कमानी जिशान मकसुदले सम्हाल्नेछन्।
सिरिजको १ खेलमा जित र २ खेलमा हार व्यहोरेको नेपाल अन्तिम खेलमा ओमानलाई पराजित गर्दै सुखद अन्त्य गर्न चाहन्छ।
उता ओमान भने नेपालमाथि लगातार चौथो जित निकाल्ने योजनामा छ।
लिग २ अन्तर्गत भएको दुई त्रिकोणात्मक सिरिजमा नेपालमाथि ओमान हावी हुँदै आएको छ। ओमानमा जारी सिरिजको पछिल्ला दुई खेलमा बलिङ र ब्याटिङ दुवै नचल्दा नेपालले गतिलो प्रदर्शन गर्न सकेको छैन।
सिरिजको पछिल्लो दुई खेलमा नेपाल ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियो। अमेरिकासँगको पहिलो खेलमा नेपालले ५ विकेटले जित निकालेको थियो।
नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरका लागि पनि आजको खेल उत्तिकै महत्वपुर्ण छ। यो सिरिजपछि प्रशिक्षक वाटमोरले नेपालको जिम्मेवारी छाड्ने भएकाले पनि उनी सुखद नतिजा दिँदै विदा हुन चाहन्छन्।
हेड टु हेड
नेपाल र ओमानबीच हालसम्म तीन ओडीआई खेल भएको छ।
यसअघिका खेलमा नेपालले ओमानलाई पराजित गर्न सकेको छैन। यी दुई टोलीबीचको पछिल्लो भेटमा नेपाल ५ विकेटले पराजित भएको थियो।
गत वर्ष नेपालको घरेलु मैदानमा भएको पहिलो खेलमा नेपाल ओमानसँग १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया