आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालका रोहित पौडेलले पनि अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
रोहितले ८० बलमा १ चौका र ३ छक्का मद्दतमा ५६ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन। उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए।
अमेरिका अघि नेपालले पीएनजीसँग खेलेको दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा समेत रोहितले क्रमश ४६ र ८६ रनको इनिङ खेलेका थिए।
यसअघि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए।
कुशलले ८४ रनको इनिङ खेल्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए।
त्यसबाहेक नेपालका लागि आशिफ सेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १७, कुशल मल्लले १ रन जोडे।
त्यसअघि मोनाक पटेलले शतकीय पारी खेलेपछि ओमानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन जोडेको थियो।
अमेरिकी विकेटकिपर पटेलले ११४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन जोडेका थिए।
त्यसबाहेक अमेरिकाका ओपनर स्टिभन टेलले १४ रन जोडे। उनले १७ बलको सामना गर्दै १ चौका प्रहार गरे। अर्का ओपनर सुशान्त मोदानीले २८ बलमा १ चौका मद्दतमा १६ रन जोडे। त्यसबाहेक अमेरिकाका नोसथुस केन्जिंगे र सन्जय कृष्णमुर्तिले समान १३-१३ रन जोडेका थिए।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा २ ओभर मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए। सुशन भारीले पनि १० ओभमा ३१ रन दिएर २ तथा विक्रम सोबले समेत २ विकेट लिए। यस्तै कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए।
करण केसी र सोमपाल कामीले कुनै विकेट लिन सकेनन्। खेलमा नेपालका लागि करण केसी निकै महंगा सावित भए।
५ ओभर बलिङ गरेका करणले ४१ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। ९ ओभर बलिङ गरेका सोमपालले ४४ रन खर्चे।
नेपालले अब भोली मंगलबार ओमानसँग खेल्नेछ।
Shares

प्रतिक्रिया