खेल


प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ

प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ

नेपालखबर
भदौ २८, २०७८ सोमबार १८:१४, काठमाडौँ

इन्टरनेसनल मिलिटरी स्पोर्टस काउन्सिल (सीआइएसएम)को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वर्ल्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन लागेका नेपाली सेनाका खेलाडीलाई आज बिदाइ गरिएको छ। 

प्रधानसेनापति प्रभुराम शर्माले आज सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सात अफिसियल र आठ खेलाडीसहित १५ जनालाई औपचारिकरूपमा विदाइ गरेका हुन्। सन् २०१८ मा नेपाली सेनाले सिआइएसएमको सदस्यता प्राप्त गरेपछि सन् २०१९ मा चीनको हुआनमा आयोजना गरिएको सातौँ सिआइएसएम वर्ल्ड गेम्समा १३ खेलमा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको थियो। 

मस्कोमा सञ्चालन हुने बक्सिङ खेलमा उपरथी निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा प्रमुख सेनानी उज्ज्वल केसी (टिम क्याप्टेन), सेनानी विशालशम्सेर थापा, सुवेदार देवेन्द्रराज सिंह ठकुरी र जमदार उमेश लामा (कोच) तथा जमदार श्याम खड्का (मेडिकल स्टाफ) र ताराराम श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री हुन् खेलाडीमा प्रेम चौधरी, आशिष दुवाडी, दानबहादुर दर्लामी, सुशील थापा, मिनु गुरुङ, पुनम रावल, विमला श्रेष्ठ र चन्द्रकला थापा छन्। अधिकांश खेलाडीले १३औँ साफ प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिसकेका छन्। 

सो अवसरमा प्रधानसेनापति शर्माले विश्वमा गोर्खाली फौजको गौरवशाली नाम राख्न सफल नेपाली सेनाका खेलाडीले यस प्रतियोगितामा पनि विजय हासिल गरी नेपाल र नेपालीको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्दै सफलताको कामना गरे। उनले खेलले खेलाडीमा आत्मविश्वास, अनुशासन र उदाहरण प्रस्तुत गर्न मद्दत पुग्ने बताउँदै शारीरिक, मानसिक र नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सहयोग पुग्दछ भने। उनले प्रशिक्षणमा सिकेका ज्ञान र सीपको उपयोग गरी आत्मविश्वासका साथ प्रतियोगितामा सहभागी हुन पनि खेलाडीहरुलाई निर्देशन दिए। 

कार्यक्रममा महासेनानी शशिकिरण रायमाझीले खेल र खेलाडीको बारेमा जानकारी दिएका थिए। सो प्रतियोगितामा नेपाललगायत विश्वका ३९ देशका ४९ महिला खेलाडीसहित झण्डै ३०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad