आइसीसी लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेकाे छ। सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ।
ओमान र अमेरिकासँगको सिरिजअघि राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय सिरिज खेल्ने तालिका छ। यो खेल भदौ २० र २३ गते ओमानमा हुनेछ।
सिरिजमा नेपाली टोलीको मुख्य लक्ष्य अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पूर्व कप्तान पारस खड्काको विकल्प खोजी र अंक तालिका सुधार हुनेछ।
पारसले संन्यास लिएपछि नेपाली टोलीले पहिलो पटक सिरिज खेल्न लागेको हो। एक दशकभन्दा लामो समय कप्तानी सम्हालेका पारसबिना राष्ट्रिय टोली १७ वर्षपछि मैदान उत्रने तयारीमा छ।
पारसको अनुपस्थिति टोलीमा खट्किने कुरामा प्रशिक्षकदेखि खेलाडी पनि एकमत छन्। तर युवा खेलाडी लिएर जोशका साथ ओमान गएको टोलीले पारसको विकल्प पाउनेमा विश्वस्त छ।
तयारी छैन
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि पारसबिना मैदान उत्रँदा उनको सम्झना आउने सुनाए। पारस नहुँदा जिम्मेवारी बढे पनि अनुभवी र युवा खेलाडीले गर्दा राम्रो प्रदर्शन गर्ने आशा गर्छन्।
सिरिजका लागि सोचे जस्तो तयारी हुन नसकेको कप्तान मल्ल सुनाउँछन्। ‘अहिले मौसम खराबीले पनि राम्रोसँग प्रशिक्षण गर्न पाएका छैनौँ’, उनले भने, ‘टोलीमा युवा खेलाडी छन् जोसँग एक दिवसीयको अनुभव राम्रोसँग छैन। त्यसैले सिरिज अघिको दुई खेलले मद्दत गर्नेछ। त्यहाँ केही नयाँ प्रयोग पनि गर्नेछौँ।’
गुलशनलाई मौका
यसपटक पारसकाे अभाव खट्किन सक्ने आकलनकै बीच युवा प्रतिभा गुलशन झाले घोषित टोलीमा पहिलो पटक स्थान पाएका छन्।
गुलशनले घरेलु प्रतियोगिताका रुपमा गत चैत्रमा भएको मेयर्स कप क्रिकेट खेलेका थिए। त्यसको ६ महिनापछि नै टोलीमा स्थान बनाउन सफल भए।
पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका गुलशन आफूले सक्ने प्रयास गर्ने सुनाउँछन्। उनले भने, ‘यति छिट्टै राष्ट्रिय टोलीमा स्थान बनाउँछु जस्तो लागेको थिएन’, उनले भने, ‘यो राम्रो खेल्ने हो। मौका पाएँ भने शतप्रतिशत दिन्छु।’
सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको १७ सदस्यीय टोलीमा गुलशनले स्थान बनाएका हुन्।
यसअघि १४ सदस्यीय टोलीले स्थान बनाउने गरे पनि अहिले कोरोना महामारीका कारण १७ सदस्य लैजान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अनुमति दिएको छ।
टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले लामो समयपछि एक दिवसीय फर्म्याटमा खेल्न लागेकाले सिरिजअघिको दुई खेल आफूहरुलाई परीक्षण हुने बताउँछन्।
युवा खेलाडीहरूले भरिएकाले पनि टोलीमा स्थान प्रतिस्पर्धा धेरै रहेको उनले सुनाए। अनुभवी खेलाडी पारसको अभाव टोलीमा खट्किने तर उनको स्थान नयाँ युवा खेलाडीले लिनेमा मुख्य प्रशिक्षक वाटमोर विश्वस्त छन्।
यसअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा ओमानविरुद्धको खेलमा चोट बोकेका शरद भेषावकर एक दिवसीय खेलमा पुनरागमन गर्दैछन्। यद्यपी भेषवाकर यसलाई पुनरागमनको रुपमा स्वीकार्न तयार छैनन्।
‘यो मेरो व्यक्तिगत रुपमा मात्र नभई सबैको लागि पुनरागमन हो जस्तो लाग्छ’, उनले भने, ‘कोरोनाका कारण करिब डेढ वर्ष खेल नहुँदा यो सिरिज सबैका लागि पुनरागमन हो।’
पारस टिममा नहुँदा युवा खेलाडीहरूको लागि राम्रो अवसर रहने शरद भेषावकर बताउँछन्। पारसको जस्तो खेललाई आउने जेनेरेशनले प्रस्तुत गर्नेमा भेषावकर विश्वस्त छन्।
विश्वकप लिग–२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग दुई खेलको सिरिज खेलिसकेको छ।
तीमध्ये दुईमा जीत र दुईमा हार बेहोर्दै नेपालले चार अङ्क जोडेको छ। नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ।
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) छन्।
ओमान १० खेलमध्ये आठमा जीत र दुईमा हार बेहोर्दै १६ अङ्कसहित शीर्ष स्थानमा छ। अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ।
स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै ९ अंकमा तेस्रो स्थानमा छ। स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाका कारण रद्द भएको थियो। सात खेलमा चारमा जित र तीनमा हार बेहोर्दै नामिबिया आठ अङ्कमा चौथो स्थानमा छ।
सात खेलमा समान २ खेलमा हार र जितको नतिजा निकालेको युएई सात अङ्कमा पाँचौ स्थानमा छ। एक खेल वर्षाका कारण रद्द भएको थियो।
सिरिजमा खेलेका आठ वटै खेलमा पराजित भएको पपुवा न्युगिनी अंकविहीन बन्दै तालिकाको पुछारमा छ।
लिग–२ अन्तर्गत सन् २०२३ सम्म हरेक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन्। लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नेछन्।
Shares
प्रतिक्रिया