स्पेनिस ला लिगाको उपाधि दावेदार टोली बार्सिलोना एथलेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
बिल्बाओको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। बिल्बाओका लागि इनिगो मार्टिनेजले गोल गरे। बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काएका थिए।
खेलमा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो। ५०औं मिनेटमा इनिगोले इकर मुनिएनको कर्नरबाट प्राप्त पासमा हेडगोल गर्दै बिल्बाओको उत्साह बढाए। खेलको सुरुवातदेखि बल पोसेसनमा पकड जमाएको बार्सिलोनाले ७५औं मिनेटमा पुगेर बराबरी गोल फर्कायोएको थियो।
मेम्फिस डिपाएले सर्जी रोबर्टाेको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। बार्सिलोनाका लागि डिपाएको यो डेब्यु गोल हो। २७ बर्षीय डिपाय यसै सिजन फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका हुन्।
बार्सिलोनाले ६७ प्रतिशत बल नियन्त्रणमा राखेपनि बिल्बाओको दबाब झेल्यो। घरेलु टोलीको सुरुवाती गोलले पनि बार्सिलोनालाई थप गाह्रो बनाएको थियो। बिल्बाओविरुद्ध नौ वटा पोस्ट प्रहारको अवसर बनाएको बार्सिलोना अन्तमा अंक बाँड्न बाध्य बन्यो।
बल पोसेसनमा मध्यम देखिएको बिल्बाओले पनि १६ वटा पोस्ट प्रहार गरेको थियो। खेलको अन्तिममा बार्सिलोना १० खेलाडीमा समेटियो। दोस्रो हाफको इन्जुरी समयमा इरिक गार्सियाले सोझै रोतो कार्ड पाए। बिल्बाओका निको विलियम्सलाई खराव ट्रयाकल गरेपछि इरिक रोतो कार्ड पाउँदै बाहिरिएका थिए। बार्सिलोनाका फ्राङ्की डे जोङ ‘म्यान अफ दी म्याच’ भए।
बराबरीसँगै दुई खेलबाट चार अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा छ। बार्सिलोनाले पहिलो खेलमा रियलल सोसिडाडलाई ४–२ गोलले हराएको थियो। लगातार दोस्रो बराबरी खेलेको बिल्बाओ दुई अंक जोड्दै नवौं स्थानमा छ।
ला लिगाअन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा मालोर्काले १० खेलाडीमा सिमिति डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो। अलाभेसलाई हराउन मालोर्काका फेर निनोले ८०औं मिनेटमा निर्णायक गोल गरे। निनोले साल्भा सेभिल्लाको पासमा गोल गरेका थिए।
यसअघि ६६औं मिनेटमा अलाभेसका रुवेन डुअर्टे दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि मालोर्काको भाग्य खुलेको थियो। मालोर्काका डानी रोड्रीग्वेज ‘म्यान अफ दी म्याच’ भए। जितसँगै दुई खेलबाट चार अंक बनाएको मालोर्का दोस्रो स्थानमा छ। लगातार दोस्रो हार खेपेको अलाभेस अन्तिममा छ।
अन्य खेलमा भ्यालेन्सिया र ग्रानाडाले १–१ तथा भिल्लारियल र स्पान्योलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। लिग अन्तर्गत आइतबार राति साविक विजेता एट्लेटिको म्यड्रिड र इल्चे, रियल म्यड्रिड र लिभान्ते तथा रियल सोसिडाड र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ।
Shares

प्रतिक्रिया