खेल


क्यानमा आउने महत्वाकांक्षा पालेका पारस राजनैतिक भेटघाटमा व्यस्त

क्यानमा आउने महत्वाकांक्षा पालेका पारस राजनैतिक भेटघाटमा व्यस्त

नेपालखबर
साउन ३०, २०७८ शनिबार १४:७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

नेपाल क्रिकेट संघ(क्यानमा) आउने महत्वाकांक्षा पालेका पारस पछिल्लो समय राजनैतिक भेटघाटमा व्यस्त देखिएका हुन्। उनले शनिबार बिहान प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।

प्रधानमन्त्री देउवाले पूर्वकप्तान खड्कासँग भएको भेटको तस्बिर ट्वीटरमा सार्वजनिक गरेका छन्। ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद,’ उनले लेखेका छन्, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’

पारसले पनि प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन। उनले आगामी दिनमा प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटको विकासमा सहयोग पुर्याउने उल्लेख गरेका छन।

No description available.

यसअघि गत बिहीबार सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि क्रिकेटर खड्कासँग भएको भेटको तस्बिर सार्वजनिक गरेका थिए। उनले उक्त तस्बिर खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको दोस्रो दिनको भएको पनि ट्वीटरमा उल्लेख गरेका थिए।

पारसले खेलाडीका रुपमा सक्रिय हुँदा पनि भविष्यमा व्यवस्थापनमा आउने इच्छा व्यक्त गरेका थिए। सन्न्यास लिदा पनि उनले क्यानमा आउने कै लागि सन्न्यास लिएको जनाएका थिए।

​​यो पनि: यस्तो रह्यो नेपाली क्रिकेटमा पारसको सानदार पारी

‘खेलाडीका रुपमा जति गर्न सकिन्छ गरेँ, सायद मैले गर्न सक्ने यही थियो’, पारसले भनेका थिए, ‘आगामी दिनमा व्यवस्थापकका रुपमा सबैसँग मिलेर देशको क्रिकेट विकास गर्न लाग्नेछु।’

२०७६ को असोजमा निर्वाचनमार्फत क्यानमा चतुरबहादुर चन्दको नेतृत्व आएपछि पारसले कप्तानबाट राजीनामा दिएका थिए। आइसीसीले क्यानमाथि लगाएको निलम्बन सशर्त फुकुवा गरेको २४ घण्टा बित्न नपाउँदै उनले राजीनामा दिएका थिए। क्यानसँगको सम्बन्धका कारण पारसले छिट्टै राजीनामा दिएको अनुमान थियो।

खेलेर मात्रै क्रिकेटको विकास नहुने बताउँदै आएका पारस व्यवस्थापनको नेतृत्वमा जान चाहन्छन्। त्यही कारण पनि पारसले राजीनामा दिएका हुन्। क्यानको विधान अनुसार कुनै पनि खेलाडी निर्वाचित हुँदै नेतृत्वमा पुग्न खेल जीवनबाट कम्तीमा दुई वर्षअघि नै सन्यास लिएको हुनुपर्छ। त्यसैको तयारी लागि पारसले सन्यास लिएका हुन्। 

जिल्लादेखि केन्द्रसम्मको नेतृत्वका लागि दलगत राजनीतिको प्रभाव खेलका संघहरूमा रहने गरेको छ। क्यान पनि त्यसबाट अछुतो छैन। राजनीतिक दलहरुले भविष्यमा पारसलाई कसरी सघाउँछन् त्यसले पनि नेतृत्वमा पुग्ने उनको प्रयासमा अर्थ राख्नेछ।

केही वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले क्यानलाई निलम्बनमा राख्दा पारसले केही हदसम्म व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए। 

क्यान निलम्बन रहेकै अवस्थामा नेपालले एक दिवसीय मान्यता पाएको थियो। जसलाई जोगाइराख्नु मुख्य चुनौती रहेको उनले बताएका छन्। 

क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे पनि निलम्बनको समयमा पारसले निर्वाह गरेको भूमिकाले नेपाली क्रिकेटलाई उचाइमा पुर्याउन मद्दत गरेको स्मरण गर्छन्। त्यसकारण पनि क्रिकेट प्रेमीले आउने दिनमा पारसबाट त्योभन्दा जिम्मेवार भूमिका निर्वाह गरेको हेर्न चाहेको पाण्डे मान्छन्। 

‘पारसबाट अपेक्षा राख्नु स्वभाविक हो। तर मुख्य विषय उनले कस्तो टिम बनाएर अघि बढ्छन्, त्यसमा धेरै कुरा निर्भर हुन्छ,’ पाण्डेले भने, ‘उनले राम्रो टिम बनाएर गए भने लक्ष्यमा पुग्न गाह्रो नहोला।’

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान उत्तम कर्माचार्यले नेतृत्वमा जान पहिले जस्तो सहज नरहेको बताए। 

‘पहिला मनोनयन गर्ने प्रणाली थियो। अहिले सबै तहबाट चुनिँदै आउनुपर्ने हुन्छ। जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुग्नुपर्ने हुन्छ,’ कर्माचार्यले भने, ‘लामो समय क्रिकेटमा बिताएकाले पारसलाई काम गर्न सहज होला। तर व्यवस्थापनमा आइहाल्न समय लाग्छ। त्यसका लागि उनले कठिन र लामो बाटो बनाउनुपर्छ।’

क्रिकेट विकास एक्लैले सम्भव छैन भन्ने पारसको कुरालाई कर्माचार्य पनि समर्थन जनाउँछन्। 

‘पारसले भनेका छन्, क्रिकेटमा धेरै गर्न बाँकी छ तर त्यो एक्लै गर्न सकिन्न। सबैलाई मिलाएर लिएर जान वातावरण बनाउनुपर्छ,’ उनको सुझाव छ, ‘पहिला आधा काम आफूले गर्दा आधा काम केन्द्रले तानेर हुन्थ्यो। अहिले पारसलाई मात्रै होइन, अरु नयाँलाई पनि गाह्रो छ। पारसलाई शुभकामना दिन्छु, जुन सोच छ त्यसले पक्कै क्रिकेटको विकासलाई फाइदा पुग्छ। अहिलेको परिस्थिति हेर्दा भावी दिनमा पारस आउन आवश्यक पनि। तर त्यसका लागि खुड्किला तय गर्दै जानुपर्छ। त्यो उनी आफैँले गर्ने हो।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad