खेल


यस्तो रह्यो नेपाली क्रिकेटमा पारसको सानदार पारी

यस्तो रह्यो नेपाली क्रिकेटमा पारसको सानदार पारी

यज्ञराज जोशी
साउन १९, २०७८ मंगलबार ८:२, काठमाडौँ

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास आश्चर्यजनक रुपमा सन्यास घोषणा गरेका छन्। उनले सन्यास घोषणा गर्ने पूर्वअनुमान केही उनका एकदमै निकटबाहेक अरुलाई सुइँको समेत थिएन। 

पारसले एउटा क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको पनि बताएका छन्।

'मेरो जीवनमा मैले देखेको सपना भनेको नै क्रिकेटको उन्नति हो। तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ', उनले भनेका छन्, 'इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौँ।'

३३ वर्षे अलराउण्डर पारसले १० एकदिवसीय अन्तर्राष्ट्रिय, ३३ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन। उनले टि-२० आईमा ७९९ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा ३१५ रन बनाएका छन। 

एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय दुवै फर्म्याटमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन। एकदिवसीय अन्तर्राष्ट्रियमा २०१९ मा उनले यूएईविरुद्ध शतक प्रहार गरेका थिए। यस फर्म्याटमा हालसम्म अरु नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन। 

मिडियम पेश र अफ स्पिन बलिङ गर्ने पारसले ओडिआईमा ९ र टि-२० आईमा ८ विकेट समेत लिएका छन। 

उनको कप्तानीमा नेपालले २०१४ को टी-२० विश्वकप खेल्दै टी-२० आईको मान्यता हासिल गरेको थियो। यस्तै २०१८ मा नेपाललाई उनले ओडिआई मान्यता दिलाए। 

२०१९ जनवरीमा यूएईसँग भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपालले जित्दा उनको प्रदर्शन उत्कृष्ट थियो। उनको कप्तानीमा नेपालले २६ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा ११ मा जित हात पारेको छ। यस्तै ६ एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल उनको कप्तानीमा उत्रिदा ६ खेलमा जित हात पारेको छ।

उनले २०२० मार्चमा थाइल्याण्डविरुद्ध एसीसी इस्टर्न रिजन टी-२० मा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए। त्यसपछि इन्जुरी र कोरोनाभाइरसका कारण उनलाई मैदानमा देखिएको थिएन। 

२०२० को नोभेम्बरमा पारस आइसीसी मेन्स दशककै उत्कृष्ट एसोसियट क्रिकेटर अवार्डको मनोनयनमा समेत परेका थिए।

उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि आफूले देखेको सपना अझै पनि बामे सर्दै गरेको बताएका छन्। 

'मैदान भित्रका यी दुई दशक जीवन रहुन्जेल, मीठो यादका रुपमा मसँग रहनेछन्', उनले भनेका छन्, 'हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौँ भन्ने विश्वास लिएको छु।'

अब क्यानको नेतृत्वमा आउँछु: पारस खड्का(अन्तर्वार्ता)

२०७६ असोजमै पारसले राष्ट्रिय टोलीको नेतृत्व छाडेका थिए। सन् २००९ यता पारस राष्ट्रिय टोलीका कप्तान थिए। कप्तान छाड्दा समेत उनको यस्तै सरप्राइज विज्ञप्ति आएको थियो। त्रिवि क्रिकेट मैदानबाट उनले कप्तानी छोडेको पत्र प्रेषित गरेका थिए। 

कप्तानी छाडे पनि खेलाडीका रुपमा पारसले आगामी २०२२ को टि-२० विश्वकपसम्म खेल्ने अनुमान गरिएको थियो। तर त्यस विपरित उनले मंगलबार सामाजिक सञ्जालबाट नै सन्यास घोषणा गर्दै अर्को सरप्राइज दिएका छन।

पारस सन् २००४ देखि नेपाली सिनियर टोलीका सदस्य भएका थिए। सन् २००९ देखि विनोद दासको स्थानमा कप्तानी सम्हालेका पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक मान्यता समेत दिलाए। 

जुन नेपाली क्रिकेटले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो उपलब्धि हो। जसले पारसलाई आधुनिक नेपाली क्रिकेटका सबैभन्दा सफल खेलाडी पनि बनाइदियो।

लामो समय नेपाली इनिङ्स पारसको ब्याटिङमा टिकेको थियो।  अधिकांश समय ३ र ४ नम्बरमा ब्याटिङमा आउने उनी मिडियम पेस र अफ स्पिन बलिङ समेत गर्छन। 

सुरुवाती क्रिकेट

पारसको क्रिकेट टुँडिखेलबाट सुरु भयो। तर, १५ वर्षसम्म पनि पारसको दिमागमा क्रिकेटर बन्छु भन्ने थिएन। उनी राम्रा बास्केटबल खेलाडी पनि थिए। त्यसबेला काठमाडौंका युवाहरुको  विदेश जाने लहर थियो। कोही पढाई, कोही श्रमका लागि। काठमाडौंका रैथाने पारसले पनि अष्ट्रेलिया जाने सपना पालेका थिए। तर भिसा नलागेपछि उनी नेपालमै रोकिए। 

तर, १५ वर्षमुनिको टोलीमा छनौट भएपछि पारसमा क्रिकेटको भुत चढ्दै गयो,' सुरुवाती दिनहरू सम्झँदै पारस भन्छन्, ‘किशोरावस्थामा देशका लागि खेल्ने मेरो सपना त थियो तर दिमागमा गन्तव्य भने अर्कै थियो। जब म १५ वर्षमुनिको टोलीमा छनौट भए तब मेरो दिमागपनि क्रिकेटतिरै ढल्यो।’

पारसले २००२ मा यूएईमा भएको यु–१५ एसिया कपमा पहिलोपटक नेपालको जर्सी लगाउनु नेपालले स्टार खेलाडी पाउनुको कारण बन्यो। अर्को वर्ष पारसले १९ वर्षमुनिको नेपाली टोलीबाट खेले। त्यसबेला कराँचीमा भएको युथ एसियाकपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए।

पारसले नेपालबाट २००४, २००६ र २००८ गरी तीनवटा यू-१९ विश्वकप खेले। सन् २००४ मा पहिलोपटक बंगलादेशमा भएको एसिसी यू–१९ विश्वकप खेलेको पारस सहितको टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो।

सन् २००५ उनी यू–१९ टिमको उपकप्तान भएको टोलीले २००६ मा श्रीलंकामा खेलेको आइसीसी यू–१९ वर्ल्ड कप प्लेट च्याम्पियनसिपमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्यान्डलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो।

दबाबका बेला पारस संकटमोचन भएर निस्कन्थे। २००६ को प्लेट सेमिफाइनलमा पारसले दक्षिण अफ्रिकाविरुद्ध अन्तिम ओभरमा बलिङ गर्दै नेपाललाई फाइनलमा पुर्‍याएका थिए। उक्त प्रतियोगिता पारस सर्वाधिक विकेट टेकर समेत रहे। 

रसले सन् २००७ मा मलेसियामा भएको एसिसी यु–१९ च्याम्पियनसिपबाट सो उमेर समूहको टोलीको कप्तानी सम्हाले। सोही प्रतियोगिताको उनी उत्कृष्ट खेलाडी पनि घोषित भए भने त्यसै वर्ष एसिसी इमर्जिङ प्लेयर अफ द इअरको अवार्ड हात पारे।

यस्तै २००७ को यू-१९ एसीसी ट्रफीमा पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए। उनको त्यही प्रदर्शनका मद्दतबाट नेपालले २००८ मा भएको १९ वर्षमुनिको विश्वकपकपमा छनोट भएको थियो। जुन १९ वर्षमुनिको उनको पनि अन्तिम विश्वकप रह्यो। जहाँ उनले १२ विकेट लिँदै दोस्रो पटक नेपाललाई प्लेट फाइनलमा पुर्‍याए।​

सफल कप्तान 

सन् २००४ मै उनले एसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत काठमाडौंमा भएको मलेसियाविरुद्धको खेलबाट सिनियर टिममा डेब्यू गरेका थिए। त्यसपछि सिनियर टोलीमा उनको ग्राफ लगातार उकालो लाग्दै गयो। 

उमेर समूहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएपछि उनले सन् २००७ मा कुवेतमा भएको एसिसी टि–२० कपमा सिनियर टिममा उपकप्तानीको जिम्मेवारी पाए।

एसोसियट क्रिकेटमा पारस सबैभन्दा लामो समय कप्तानी गर्नेमध्येका एक हुन। सन् २००९ देखि २०१९ सम्म १० वर्ष पारसले नेपाली टोलीको कप्तानी गरे। युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट उनलाई राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी दिइएको थियो।

parass12345

लगत्तै सन् २०१० मा उनको कप्तानीमा काठमाडौंमा भएको डिभिजन ५ मा नेपाल च्याम्पियन बन्यो। जुन आइसीसीको ठूलो प्रतियोगिता जितेको नेपालले पहिलो पटक थियो। घरेलु दर्शकमाझ राष्ट्रिय टोलीलाई डिभिजन ५ को उपाधि दिलाएपछि उनी नेपाली समर्थक माझ लोकप्रिय बन्दै गए।

२०१२ मा मलेसियामा भएको डिभिजन चारमा नेपाललाई च्याम्पियन बनाएका पारसले त्यसै वर्षको एसिसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउनुका साथै आफू प्लेयर अफ द सिरिज पनि बने। सो प्रतियोगितामा उनको रन औसत ७२.७५ को हुनुका साथै ९ विकेट पनि लिएका थिए। सोही प्रतियोगितामा कुवेत विरुद्ध उनले पहिलो शतक प्रहार गरेका हुन्।

विश्वकप

सन् २०१३ मा भएको एसीसी टी–२० कपमा पनि उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने। सोही वर्ष बर्मुडामा भएको वर्ल्ड क्रिकेट लिग डिभिजन ३ मा नेपाललाई च्याम्पियन बनाउँदै टी–२० विश्वकप छनोटमा पुर्याए र छनोटमा तेस्रो बन्दै नेपालले सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा छनोट भयो।

टी–२० विश्वकपमा नेपालका लागि हङकङ र बंगलादेशविरुद्धको खेलमा उनले समान ४१–४१ रन प्रहार गरेका थिए। हङकङविरुद्ध उक्त विश्वकपको पहिलो बलमै इर्फान अहमदको विकेट लिँदै उनी विश्वकपको पहिलो बलमै विकेट लिए विश्वकै आठौं खेलाडी बनेका थिए। 

अफगानिस्तानविरुद्ध सो विश्वकपमा ९ रनको सनसनीपूर्ण जित निकाल्ने क्रममा पारसले दुईवटा उत्कृष्ट क्याच लिएका थिए। त्यसक्रममा उनलाई धेरै मिडियाहरूले नेपालको कपिल देव भन्दै उल्लेख गरे। सोही प्रतियोगितापछि नेपालले पहिलो पटक टी–२० अन्तर्राष्‍ट्रियको मान्यता पाएको थियो।

टी–२० अन्तराष्ट्रियको मान्यता पाएकै बेला नेपालले नेदरल्यान्डसँग चार खेलको श्रृखंला खेलेको थियो। उक्त श्रृखंला नेदरल्याण्डले ३–१ ले जितेपछि पारस नेदरल्याण्डका अहसान मलिकसँगै म्यान अफ द सिरिज चुनिएका थिए।

मार्च २०१५ मा भएको इमिरेट्स टी–२० प्रतियोगिताका लागि उनी मेरिलोबेन क्रिकेट क्लबको टोलीमा पनि समेटिएका थिए।

एकदिवसीय मान्यता

नेपाललाई २०१५–१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिपको नेतृत्व गरेका पारसले २०१८ मा भएको डिभिजन दुईको उपविजेता बनाउँदै मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुर्याए भने उक्त छनोटमा आठौं बन्दै नेपालले एकदिवसीय अन्तराष्ट्रियको मान्यता हासिल गर्यो।

आफ्नो करिअरबारे पारस भन्छन्, 'म धेरै खुसी र भाग्यमानी छु। मेरो त सपना पनि थिएन, नेपालका लागि क्रिकेट खेल्ने भन्ने तर भाग्यमा अर्कै कुरा लेखेकाे थियो। यू–१५, १७, १९ खेल्दै गएपछि राष्ट्रिय टिममा पुगेर त्यसको नेतृत्व गर्ने मौका पनि पाएँ। यो अविश्वसनीय यात्रा थियो। तर, हरेक कुराको अन्त्य हुन्छ। कुनै पनि कुरा जीवनमा स्थायी छैन। हामीले नेपाली क्रिकेटको प्रगति भने स्थायी गर्नुपर्छ।'

अब के?

क्यान निलम्बनमा हुँदा पारसले खेलाडी छनोटकर्ता, मेन्टर, कप्तान, खेलाडीको भूमिका निर्वाह गरे। तर क्यान निलम्बन फुकुवा भएकै दिन उनले कप्तानी छोड्दै ती जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका थिए। त्यसपछि केही समय खेल्ने उनले जनाएका थिए।

खेल जीवनपछि भने पारसले नेपाली क्रिकेटको व्यवस्थापनमा आउने जनाइसकेका छन। त्यसका लागि उनी आफूलाई तयार समेत पारिरहेका छन। पोखरामा पोखरा प्रिमियर लिग, बलियो नेपाल फाउन्डेसन लगायत कार्यक्रमबाट उनी क्रिकेट व्यवस्थापनमा उत्तिकै संक्रिय छन।

उनी स्वयम् पनि भविष्यमा क्रिकेट संघको नेतृत्वमा आउन चाहेको बताउँछन्। 

'भविष्यमा मैले नेपाल क्रिकेट संघको नेतृत्व गर्ने सोचेको छु। तर, त्यो सोचेजस्तो सजिलो छैन। त्यसका लागि पूरै नयाँ संरचनामा आफूलाई ढाल्न सक्नुपर्छ। अहिलेसम्म मैले आफूलाई खेलाडीका रुपमा मात्रै आफूलाई प्रस्तुत गरेको छु। पदाधिकारी भएर आउने हो भने मैले पहिले क्रिकेटको विकासका लागि पनि काम गर्नुपर्यो,' उनले कप्तानी छाड्दा भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .