नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफूले क्रिकेट नछाडेको बताएका छन्। सक्रिय खेल जीवन त्यागे पनि अब क्रिकेटमा आफ्नो भूमिका फेरिने खड्काले उल्लेख गरेका छन्।
खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउन सक्ने पनि बताएका छन्। तर, क्रिकेट व्यवस्थापनमा सफल भए मात्रै त्यसबारेमा सोच्ने पारसले बताएका छन्।
यसअघि मंगलबार अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास घोषणा गरेका उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर क्रिकेटमा आफ्नो भूमिका नसकिएको र आफू टाढा नभएको पनि बताएका छन्।
‘सन्यास लिँदैमा क्रिकेटबाट टाढा भएको होइन', उनले पत्रकार सम्मेलनमा भने, 'म भोलि पनि क्रिकेटसँगै हुनेछु। मेरो भूमिका मात्रै फेरिनेछ।'
पत्रकार सम्मेलनका क्रममा पारसले आफूले यसअघि नै सन्यास लिन चाहे पनि टिमलाई सहयोग गरिरहन बसेको बताए। 'दुई वर्षअघि नै सन्यासबारे सोचेको थिएँ', उनले भने, 'तर टिमलाई सहयोग गर्न मात्रै राष्ट्रिय टिममा बसिरहेको थिएँ। दुई वर्ष पूरा भयो, छाडेको छु।'
पारसले नेपाली क्रिकेट टिमको कप्तान र एक सदस्यका रुपमा आफूले सके जति योगदान राष्ट्रिय टिमलाई दिएको पनि बताएका छन्।
पारसले आफू अब व्यवस्थापकका रुपमा क्रिकेटमा देखिने बताएका छन्। अब आफू व्यवस्थापनतर्फ सक्रिय रहने बताउँदै त्यही कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिएको पनि बताए।
'क्रिकेट खेलेर मैले पार्न सक्ने प्रभाव र दिन सक्ने योगदान यति नै थियो', उनले भने, 'अब मेरो इच्छा व्यवस्थापनमा छ। पारसको योगदानले मात्रै नेपाली क्रिकेट यो अवस्थासम्म आइपुगेको होइन, अन्य धेरै खेलाडीको योगदान छ। भन्दा पुरा खेलाडीको पनि अझै योगदान छ।'
पारसले अबको चुनौती एक दिवसीय मान्यता जोगाइराख्नु रहेको पनि बताए। 'एकदिवसीय मान्यतालाई जोगाइराख्ने चुनौती नेपाली क्रिकेटलाई आएको छ', उनले भने, 'एकदिवसीय मान्यता जोगाइराख्न ठुलो चुनौती छ। यसलाई जोगाइराख्नु नै ठुला कुरा हुनेछ।’
पूर्व कप्तान पारसले सक्रिय खेल जीवन छाडेपछि क्रिकेट एकेडेमी बनाएर देशभर खेलाडी उत्पादन अभियान अघि बढाउने योजना पनि पत्रकारहरुलाई सुनाए। तर उनले अझै पनि घरेलु टिममा आफूले खेल्ने पनि संकेत गरे।
‘नेपाली क्रिकेटको अहिलेको गति छ कायम रहनुपर्छ', उनले भने, 'अहिलेको टिमले नेपाली क्रिकेटलाई अझै अगाडि लैजानेछ। नेपाली क्रिकेट टिमले सधैँ जित्नुपर्छ। जितोस् भन्ने कामना र प्रार्थना गरिरहन्छु।'
Shares

प्रतिक्रिया