रितु कौनजियाको अलराउण्ड प्रदर्शन मद्दतमा चितवन राइनोजले काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा ललितपुर फाल्कोन्समाथि ८९ रनको शानदार जित हात पारेको छ।
चितवनले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको ललितपुरले १७.१ ओभरमा सबै विकेट गुमाएर ४६ रनमै समेटियो । उसका कप्तान नेरी थापाबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । नेरीले २० बलमा १ चौकासहित १७ रन जोडिन । यस्तै उसका कविता जोशीले ८, शान्ती चौधरीले ७ बाहेक अरुको सम्झना लायक प्रदर्शन रहेन।
ललितपुरका चार खेलाडीले खाता नै खोल्न सकेनन्। चितवनकी कविता गौतमले ४ ओभरमा १३ रन खर्चदै ३ विकेट लिइन । यस्तै रितु कनौजियाले ४ ओभरमा १० रन दिएर २ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३५ रन बनायो।
चितवनको लागि रितु कनौजियाले ५८ रनको अविजित अर्ध शतकीय इनिङ खेलिन्। कनौजियाले ५५ बलमा ८ चौका प्रहार गरिन्। यस्तै प्यारी चौधरीले २२ रन जोडिन।

प्रतिक्रिया