खेल


कप्तानीका लागि म तयार भएर बस्नुपर्छ भन्ने लाग्दैनः ज्ञानेन्द्र मल्ल(अन्तर्वार्ता)

कप्तानीका लागि म तयार भएर बस्नुपर्छ भन्ने लाग्दैनः ज्ञानेन्द्र मल्ल(अन्तर्वार्ता)

नेपालखबर
असोज २९, २०७६ बुधबार ७:५९,

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मंगलबार अस्वाभाविक रुपमा पदबाट राजीनामा दिए। दश वर्ष नेपाली टोलीको नेतृत्व गरेका पारसले पुनः कप्तानमा नफर्किने पनि बताइसकेका छन्। यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन।

पारसले पदबाट राजीनामा दिएपछि अब नेपाली टोलीको नेतृत्व कसले गर्छ भन्ने आमजिज्ञासा बनेको छ। यस्तोमा पारस कप्तान भएदेखि नै उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई सबैले स्वाभाविक उम्मेदवारका रुपमा लिएका छन्।

यो पनि: पारसले अहिल्यै नेतृत्व नछाडेको भए हुन्थ्याे : पूर्वकप्तान दास

ज्ञानेन्द्र मल्लले पनि आफूले पारसको अनुपस्थितिमा बेला-बेला राष्ट्रिय टोलीको नेतृत्व पनि गरिसकेकाले त्यो जिम्मेवारी पाए आफू तयार रहेको बताएका छन्। प्रस्तुत छ ज्ञानेन्द्र मल्लसँग नेपालखबरका यज्ञराज जोशीले गरेको कुराकानीः

कप्तानीबाट पारस खड्काले दिनुभएको राजीनामालाई कसरी लिनुभएको छ?
अलिकति अस्वाभाविक नै हो। उसको निर्णयको हामीले सम्मान गर्नैपर्छ। उसले सोचविचार गरेर नै निर्णय लिएकाे होला। तर, एकचोटि सबै बसेर पारसलाई फर्काउने कुरा गर्नुपर्छ। यो समयमा सबै जना एकजुट हुन जरुरी पनि छ। उसको लिडरसिप चाहिएको पनि छ। खाँचो पनि छ। हेरौं के हुन्छ। पारसको कप्तानीबाट राजीनामा अलि छिटो हो कि जस्तो लाग्छ।

पारसको राजीनामाबारे केही संकेतहरु पाउनुभएको थियो?
हामीले सधैँ खेलिराख्ने कुरा हुँदैन, हामीले पनि समय हेरेर अरुलाई पनि बाटो खोल्नुपर्छ र नेपाली क्रिकेट सेफ साइडमा गएपछि विदा लिनुपर्छ भन्ने कुरा पहिलेदेखि नै भइरहन्थ्यो। राजीनामाको विषयमा गम्भीर रुपमा त हैन, सामान्य रुपमा अब कसरी अघि बढ्ने भनेर छलफल त भएको हो। तर, अहिले नै एक्कासि उसले राजीनामा दिन्छ भन्ने मलाई लागेको थिएन।

यो पनि: क्यानको नेतृत्वमा आउने चाहना छ: पारस खड्का(अन्तर्वार्ता)

तपाईंको भनाइ पनि पारसको नेतृत्व अझै केही वर्ष नेपाललाई चाहिन्छ भन्ने हो?
हो। किनभने अहिले क्यानको निलम्बन पनि फुकुवा भएको छ। नयाँ बोर्ड आएको छ। क्रिकेट नयाँ संरचनामा जाँदै गरेको बेला ऊसँग भएको अनुभवलाई लिएर सबै जना टिम भएर अबको हाम्रो बाटो कोर्न पाएको भए राम्रो हुन्थ्यो।

gyanendra malla 2

पारस स्वयंले अब कप्तानीमा फर्किँदैन भनिसकेपछि नयाँ कप्तानको प्रमुख दाबेदार उपकप्तानका हैसियतले तपाईं नै हो। तपाईंमाथि कप्तानीको जिम्मेवारी आएपछि त्यसलाई सम्हाल्न तयार हुनुहुन्छ?
गएको दश वर्षदेखि ऊ कप्तान हुँदा म उपकप्तान थिए। बीच-बीचमा पारसको अनुपस्थितिमा मैले कप्तानको भूमिका निभाइराखेको थिएँ। मैले कप्तानी पाउँदा नयाँ, नौलो या आत्तिनुपर्ने कुरा हुन्छ जस्तो मलाई लाग्दैन। कप्तानीका लागि म तयार भएर बस्नुपर्छ जस्तो पनि लाग्दैन। कप्तानीको कुरो मभन्दा पनि नयाँ व्यवस्थापन तथा प्रशिक्षकले निर्णय लिने कुरा हो। यदि त्यस्तो हुन्छ(कप्तानी पाइएमा) भने अहिलेसम्म गरिरहेको अनुभवले नयाँ जिम्मेवारीमा घुलमिल हुन फरक नपर्ला।

कप्तानले छाडेपछि स्वाभाविक रुपमा उपकप्तानका हैसियतले तपाईंले नेतृत्व पाउनुपर्ने हो नि, हैन?
सधैँ एउटै धारमा चल्नुपर्छ जस्तो मलाई लाग्दैन। अरुलाई चेन्ज चाहिन्छ या अरु केही गर्नुपर्छ भन्ने जस्तो टिमलाई, सबैलाई लाग्छ भने उपकप्तान नै कप्तान हुनुपर्छ भन्ने लाग्दैन।

त्यसो भए युवा खेलाडीहरुमा पनि कप्तानीको विकल्पका रुपमा हेरिएको होे?
नेतृत्व भन्नेकुरा एकैचोटि दिँदैमा, नदिँदैमा थाहा हुँदैन। कोही नयाँ आउँछ भने उहाँहरुलाई पनि समय चाहिन्छ। घरेलु प्रतियोगितामा दीपेन्द्र(ऐरी), सोमपाल(कामी)ले पनि कप्तानी गरिरहेका छन्। सबै जनाले टिमको एकता र भाव बुझेर अगाडि बढ्नुहुन्छ भन्ने मलाई लाग्छ। त्यसैले युवा खेलाडीहरु पनि कप्तानका रुपमा अघि बढ्न सक्नुहुन्छ।

कप्तानको मुख्य दाबेदार त तपाईं नै हो। तपाईंले कप्तानी पाउनुभयो भने पारस खड्काको 'लिगेसी'लाई निरन्तरता दिने चुनौती तपाईंमा होला नि?
एकदम, एकदम। नेपाली क्रिकेटबाट सबै जनाको अपेक्षा पनि एकदमै उच्च छ। पारसले कायम गरेको लिगेसीलाई क्याच गर्न त पक्कै पनि गाह्रो हुन्छ। तर, हाम्रो मुख्य (गोल) भनेको जित्ने हुन्छ। को कप्तान हुन्छ भन्दा पनि टिमको लक्ष्य ओडीआई स्टाटस (एक दिवसीय मान्यता) कसरी कायम राख्ने र टेस्ट स्टाटसतर्फ कसरी जाने भन्ने नै हुन्छ जस्तो लाग्छ। कप्तानमात्रै नभएर सबै जना टिम भएर त्यो उद्देश्यतिर अघि बढ्नुपर्छ जस्तो लाग्छ।

यो पनि: आधुनिक नेपाली क्रिकेटमा पारसको अविश्वसनीय यात्रा

तपाईं कप्तान हुँदा पारस खड्का खेलाडीको रुपमा मैदान उत्रिए उहाँबाट तपाईंको अपेक्षा के रहन्छ?
ऊसँगको अपेक्षा मलाई भनिरहनुपर्छ जस्तो लाग्दैन। उसले आफैँ कप्तान तथा खेलाडीको रुपमा बारम्बार प्रदर्शन गरिरहेको छ। टिमलाई जिताउन आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने उसलाई राम्रोसँग थाहा छ। त्यसैले स्वाभाविक रुपमा नै उसको प्रदर्शनबारे उसलाई आफैँ ज्ञान हुन्छ। कसैले सम्झाइरहनुपर्छ जस्तो लाग्दैन।

नेतृत्व पाउनुभयो भने टिमलाई कहाँसम्म पुर्याउने आकांक्षा छ?
मैले नेतृत्व गरेर टिमलाई मैले पुर्याउने हैन। टिमले पुर्याउने हो। म एक जनाले लिएर गएर पुग्ने हैन। जोसुकै कप्तान होस्, यदि टिमले टिमको लक्ष्य पूरा गर्दैन भने प्लेयरले कहिले पनि अघि बढ्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad