बझाङको छबिसपाथीभेरा गाउँपालिका–२ का १७ वर्षीय निखिल रोकाया भारतको दिल्लीमा काम गर्थे। आमा पुतली र भाउजू अञ्जली पनि साथमै थिए।
निखिलका दाइ अनिल जापान जाने तयारीमा थिए। काठमाडौँमा रहेका उनको सोमबारको टिकट थियो। दाइसँग भेटघाट र उनको बिदाइका लागि आमा, भाउजूसहित दिल्लीबाट फर्किदै थिए निखिल।
तर दुर्भाग्य, निखिलको बिच बाटोमै निधन भयो। उनीहरु सवार जिपलाई ट्रकले ठक्कर दिँदा बाटोमै निखिलको शनिबार बिहान मृत्यु भएको हो।
निखिलको परिवार र आफन्त अन्तिम संस्कारका लागि महेन्द्रनगर पुगेका छन्। ‘शव ल्याउँदैछौँ। आजै महाकालीमा अन्त्यष्टि गर्छौ,’ निखिलका ठूलो बुवा दर्शनले भने, ‘जापान जाने दाइसँग भेटघाटका लागि आउँदै थिए। बाटोमै दुःखद घटना भयो।’
दुर्घटनामा निखिलकी भाउजू अञ्जली गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि दिल्ली लगिएको छ। आमा पुतली भने सकुसल छिन्।
भारत उत्तरप्रदेशको पिलिभितमा ट्रकले कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो। बिसलपुर–बरेली हाइवेको किनारमा एचआर ३८ एएच ५५९६ नम्बरको कार रोकेर मर्मत गरिरहेको बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य नेपालीको पनि मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कार चालक बझाङकै २५ वर्षीय गणेश कुमार सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ।
ठक्कर दिने ट्रक चालक ट्रकसहित भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
‘गाडीको पछाडिको टायर पंचर भएको थियो। त्यसलाई मर्मत गरिरहेका थियौँ। पछाडिबाट आएको ट्रकले पूरै किचेर गयो,’ गाडीमा सवार अछामका नविनसिंहका परिवारले भारतीय सञ्चार माध्यमलाई भनेका छन्, ‘दुई जनाको घटनास्थलमै मृत्यु भयो। २ जनालाई अस्पताल लगियो।’
चालकसहित ८ जना यात्रु लिएर कार दिल्लीबाट नेपालतर्फ आइरहेको बेला दुर्घटना भएको हो।
Shares

प्रतिक्रिया