समाज


कर्णाली नदीमा बच्चा हुर्काउँदै घडियाल गोही

कर्णाली नदीमा बच्चा हुर्काउँदै घडियाल गोही

नेपालखबर
असार ३१, २०८२ मंगलबार ७:११, कैलाली

कैलालीस्थित कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन्।

सहायक पथरैया र मोहना नदीमा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेका संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने स्थानको व्यवस्था गरेको हो। प्राकृतिक रूपमा बिनाकुनै लगानी घडियालको बच्चा हुर्काइरहेको छ।

विगत चार वर्षदेखि घडियाल गोहीले सो क्षेत्रमा बच्चा कोरल्ने गरेको ढुङ्गानाले बताए। मोहना, पथरैया र कर्णाली तीनवटै नदीमा घडियालले यस वर्ष बच्चा कोरलेका थिए।

घडियालसँगै सो क्षेत्रमा डल्फिनको पनि बच्चा हुर्काइरहेका छन् । डल्फिन विश्वमै दुर्लभ जलप्राणी मानिन्छन् । यसलाई अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले रातो सूचीमा राखेको छ । वर्षायामको समयमा कर्णाली नदीलगायत सहायक नदीहरुमा डल्फिन बच्चासँगै देखिने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए।

सुरुमा आएका वयस्क डल्फिनसँग अचेल स–साना बच्चा पनि देखा परेका छन्। कम्तीमा पनि दुई–तीन दिनमा छ–सात वटा बच्चा वयस्क माउसँग देखा पर्छन्। ‘अहिले देखा परिरहेका बच्चालाई डल्फिनले मोहना नदीमा जन्माएका हुन्’, उनले भने।

डल्फिन बच्चा जन्माउने स्तनधारीभित्र पर्दछन् । स्वच्छ पानीमा बस्न रुचाउने डल्फिन बच्चा हुर्काउनका लागि कैलालीको कर्णालीसहित सहायक नदीमा आउने गर्दछन्। भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए। 

‘तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन्। मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन्’, उनले भने।

यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षा याममा डल्फिन आउँछन्। स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने श्रेष्ठको भनाइ छ।

‘प्लानिभेष्टा ग्यागेटिक’ जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ’, उनले भने। घडियाल र डल्फिनसँगै यहाँ मगर गोहीले पनि बच्चा हुकाइरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad