अछामको बान्निगढी जयगढ गाउँपालिका–३ का कृष्ण साउदको जयगढ बजारमा दुई वटा पसल थिए। उनले फेन्सी र हार्डवेयरको पसल चलाएको वर्षौ भइसक्यो।
८१ वर्षीया उनका बुवा रतिसिंहले २०४५ देखि जयगढ बजारमा व्यापार थालेका हुन्। पसलमा कहिले कृष्ण बस्थे त कहिले रतिसिंह। मंगलबार कृष्ण गाउँको घरमा गएका थिए।
बुवा र आमा पसलमै थिए। जयगढ बजारमा भीषण आगलागी हुँदा उनको दुवै पसल जलेर नष्ट भए।
‘५०/६० लाखको सामान थियो। क्षणभरमै सबै खरानी भयो,’ उनले भने, ‘जीविकोपार्जनको स्रोत यहीँ व्यापार थियो। अब के गर्ने? कसरी जीवन चलाउने?’
आगलागीले साउद परिवारको बिचल्ली भएको छ। व्यापारका लागि ऋण लिएका थिए। पसल आगोले खरानी भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ। कृष्णका बुवा रतिसिंह र आमा विद्यालयमा आश्रय लिएर बसेका छन्। आगलागीले जयगढ बजारका २१ परिवार विस्थापित भएका छन्।
‘लगाएको लुगाबाहेक केही बचेन। न बस्नलाई घर बच्यो। न त खानलाई अन्न र व्यापार व्यवसाय गर्नलाई पसल। सबै खरानी भएको छ,’ पीडित गोकुल साउदले भने।
बान्निगढी जयगढ गाउँपालिका–३ का अध्यक्ष नवराज साउदका अनुसार फेन्सी, हार्डवेयर, सुनलगायतका पसल आगोले जलेर नष्ट भएका छन्। ३१ घर तथा पसल जलेका थिए।
आगलागीबाट ८ करोड बढीको क्षति भएको अनुमान छ। यकिन विवरण संकलनको काम भइरहेको छ। आगलागीबाट २१ परिवारका ७० जना प्रभावित छन्।
प्रभावित ८ परिवारका २७ जनालाई सरस्वती माध्यमिक विद्यालयमा आश्रय दिइएको छ। अन्य विस्थापित कोही आफन्त त कोही आफ्नै गाउँकै घरमा आश्रय लिएर बसेका छन्।
प्रभावित २१ परिवारलाई खाद्यन्न, लत्ताकपडाको व्यवस्था गरिएको वडाध्यक्ष साउदले बताए। मंगलबार बेलुका एउटा आइएमई सेन्टरमा ग्यास सिलिण्डर पड्किएर आगो सल्केको थियो।
मंगलसेन, साँफेबगर लगायतको दमकल र पानी ट्यांकीले आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो।
‘कपडाका पसलहरु थिए। आगो समातेपछि निभाउनै नसकिने अवस्था थियो। जति पानी हान्यो त्यति आगो दन्किरहेको थियो,’ बान्निगढी जयगढ गाउँपालिका–४ का अध्यक्ष किरण खत्रीले भने, ‘आगो पूर्ण रुपमा १ बजे नियन्त्रणमा आएको थियो।’
जयगढ बजारमा १५० भन्दा बढी पसल छन्। पसलहरु लहरै जोडिएकाले आगो तीव्र रुपमा सल्किएको हो।
अन्य पसल र घरसम्म आगो पुग्न नदिन बीचका २ घर भत्काइयो र ‘चेन ब्रेक’ गरिएको थियो। गाउँपालिकाको जेसिबीको प्रयोग गरेर स्थानीय निर्मला रावलको पक्की घर र हर्कराज साउदको टिनले छाएको घर भत्काइएको थियो।
उनीहरूले आफ्नो घर भत्काएर आगोले बजारलाई थप खरानी हुनबाट जोगाए। उनीहरु घरबारविहीन भएर अहिले विद्यालयमा आश्रय लिएर बसेका छन्।
‘उहाँहरूले घर भत्काउन नदिएको भए अन्य पसल र घर आगोले रहने थिएनन्,’ खत्रीले भने।
Shares

प्रतिक्रिया