समाज


लोप हुँदै रानाथारूले होलीमा लगाउने परम्परागत गहना

लोप हुँदै रानाथारूले होलीमा लगाउने परम्परागत गहना

नेपालखबर
चैत ४, २०८१ सोमबार १३:१६, कञ्चनपुर

परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको उनी सम्झिन्छिन् । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उनले बताइन्।

उनका अनुसार होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, हसुला, सकरगरेला लगाउने गर्दथे । पाखुरामा लगौरा, नाडीमा पहुँची, औंलामा कलात्मक औँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गर्दथे । गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाउने गर्दथे।

‘टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यतिबेलाको समाजमा उच्च सम्मान गरिन्थ्यो’, उनले भनिन्, ‘त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रूपमा लिने गरिन्थ्यो।’

हाल ती गहना थोरै महिलासँग मात्र छन् । धेरैले आधुनिक बजारमा चलनचल्तीका गहना लगाउने कार्यले पुराना गहनाको महत्त्व घट्दै गएको उनको भनाइ छ।

पुराना गहना बनाउने कारिगर पाउन मुस्किल छ । रानाथारू समुदायका पुरूषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने गर्दथे । हाल पुराना पहिरन, गहना हराउँदै गएको रामदास रानाले बताए ।  ‘पुरूषले लगाउने पुरानो पहिरन लगाउनै छाडेका छन्,’ उनले भने, ‘जनचेतनामा जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको महिलाका पहिरन जोगाउन भने हालसम्म सकिएको छ, तर पहिरनमा आधुनिकताको छाप भने परेको छ।’

रानाथारू समुदायले माघ शुक्ल पूर्णिमाका दिनदेखि होलीको प्रतीक राखेर होली प्रारम्भ गर्ने गरिन्छ । यसबेला मथुराबाट होलीलाई बोलाउने (आह्वान) गरिन्छ । प्रतीक स्थापना गरेको एक महिनासम्म रातिका बेला महिला पुरूषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउने गरिन्छ । त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमासम्म रहन्छ।

गाउँको दक्षिणी पूर्वतर्फ स्थापना गरिएको होलिका पूर्णिमाको दिन दहन गरिन्छ । एक महिनासम्म रातिका बेला खेलिनेलाई जिउँदो होली भन्ने गरिन्छ । होलिका जलाएको भोलिपल्ट खरानीको टीका लगाउने गरिन्छ । त्योभन्दा अगाडि टीका नलाग्ने चलन रानाथारू समुदायमा रहेको थारू अगुवा जगता रानाले बताए । त्यसै दिनदेखि आठ दिनसम्म मरेकी होली खेलिन्छ । आठौँ दिनको बेलुका खखडेहरा खेलिन्छ।

पुराना गहना बनाउने कारिगर पाउन मुस्किल छ । रानाथारू समुदायका पुरूषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने गर्दथे।

‘यस क्रममा होलीलाई बृन्दावन, मथुरामा पठाउने कार्य गरिन्छ’, उनले भने, ‘खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोड्ने कार्य गरिन्छ।’ फोड्ने काममा गाउँका अगुवा भलमन्सा, गुरूवालगायत मात्र जाने चलन छ। यसो गरेपछि दुष्टआत्मा गाउँमा प्रवेश नगर्ने भनाइ थारू समुदायका बुढापाकाको छ। उहाँहरूका अनुसार प्रतिमा फोरेर घर फर्कँदा पछाडि फर्केर भने हेर्नु हुँदैन। हेरे दुष्टात्मा पुनः गाउँ फर्कने विश्वास छ।

पुरूषको होली त्यसै बेलादेखि सकिन्छ भने महिलाको होली चैत चराईमा पठाइने गरिन्छ । होली प्रारम्भ गर्दा, होली जलाउने बेला, साँझ, राति, दिउँसो गरी फरकफरक समयमा फरकफरक होलीका गीत गाइने गरिन्छ । होलीमा गीतको सुरूआत गर्ने (अगुवाइ गर्ने) महिलालाई मोढी भनिन्छ।

मोढीको सिको गर्दै गीत गाउनेलाई पिछडिया भन्ने गरिन्छ । होलीमा ढोलक बनाउनेलाई ढोलिया भनिन्छ । पुराना होलीका गीतलाई लिपिबद्ध गर्ने कार्य नहुँदा हराउँदै जान थालेकोप्रति रानाथारू समुदायका बुढापाकाले चिन्ता जाहेर गरेका छन्।

होली प्रत्येकको घरमा परम्परागत चलन अनुसार खेल्ने गरिन्छ। होलीमा सगुनका रूपमा गुड भेली दिने चलन रानाथारू समुदायमा छ। फगुवाका रूपमा पैसा दिने चलन पनि छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad