समाज


दसैँको दक्षिणा शिक्षामा लगानी

दसैँको दक्षिणा शिक्षामा लगानी

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८१ सोमबार ९:२६, कैलाली

दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ। दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन्। 

कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा छिन् । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहेकी छिन् । “मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु”, उनले भनिन्, “यस पटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु।”

कक्षा ७ मा अध्ययनरत कैलालीको लम्की चुहाकी सोनी उपाध्याय पनि यस पटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा छिन् । “मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो । दसैँको रकम अनावश्यक खर्च नगर्ने साँचेकी छु।”

कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दसैँ खर्च जोगाउने तयारीमै छिन् । गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताउँछिन्। “के किन्ने भनेर योजना बनाउँदै छु । स्कुल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु”, उनले भनिन्। 

हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन्। 

यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ । “एक महिना बिदा हुन्छ । यो समय सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ। विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय पनि हो यो। 

त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्त्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ”, उनले भने, “यो समयमा नयाँ पुस्तक पढ्ने, नयाँ पुस्तक किन्ने जस्ता कार्यमा खर्च गर्न सकिन्छ । यसका लागि अभिभावकले नै उत्प्रेरित गर्न आवश्यक छ।”

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् । 

“मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ । सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ। यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ । रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउन सके राम्रो हुन्छ”, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad